रास्वपा महाधिवेशन: पदाधिकारीका लागि आज मतदान हुँदै



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज शुक्रबार पार्टीका बाँकी पदाधिकारी चयनका लागि मतदान हुँदैछ ।

पार्टी निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ । पहिलो चरणको निर्वाचनको परिणाम सार्वजनिक भएपछि बाँकी पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान हुन लागेको हो ।

यस चरणमा ६ वटा पदका लागि मात्रै निर्वाचन हुनेछ । जसअनुसार एक जना खुला उपसभापति, एक जना महिला उपसभापति, एक जना खुला महामन्त्री, दुई जना खुला सहमहामन्त्री र एक जना महिला सहमहामन्त्री पदका लागि मतदान हुनेछ ।

पार्टीको विधानअनुसार रास्वपामा १९ जना पदाधिकारी रहने व्यवस्था छ । सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध चयन भइसकेका छन् भने वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० लाई मनोनीत गरिने तयारी छ ।

रास्वपाको विधानअनुसार समावेशी तथा निर्वाचन र मनोनयन प्रक्रियाबाट उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष र सहकोषाध्यक्षलगायत पदहरू चयन गरिने व्यवस्था छ ।

यसैगरी प्रथम महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि मत परिणाम सार्वजनिक भइसकेको छ ।

रास्वपाको पहिलो महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा जारी छ ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्