Deshko News
१४ आश्विन २०८०, आइतबार

चुनावपछि पुनः मुग्लिन सडक ६ घण्टा बन्द



चितवन,  जेठ ४

चितवनको मुग्लिन–नारायणगढ सडक आयोजनाले आजदेखि पुनः ६ घन्टा बन्द गरेर काम गर्ने भएको छ । वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख २५ देखि जेठ ३ गतेसम्म १० दिन बन्द नगरेको आयोजनाले आजदेखि नियमितरुपमा सडक बन्द गरेर काम गर्न लागेको हो ।

आयोजनाका इन्जिनियर शिव खनालका अनुसार आजदेखि हरेक दिन विहान १० देखि ४ बजेसम्म सडक बन्द गरेर काम हुनेछ । अहिलेसम्म उक्त सडकखण्डमा ४७ प्रतिशत मात्रै काम पूरा भएको खनालले जानकारी दिनुभयो । समयमै निर्माण सम्पन्न नभएकाले आगामी पुस पहिलो हप्तासम्मका लागि समय थप गरेर निर्माण कार्य हुँदै आएको उहाँको भनाइ छ ।

उक्त सडकखण्डको ३४ किमी क्षेत्रमा तीन चरणमा ६ वटा निर्माण कम्पनीले अहिले काम गरिरहेका छन् । चुनावका लागि गएका मजदुर फर्किएको समेत आयोजनाले जनाएको छ । उक्त सडक भएर दैनिक १० हजार सवारीसाधन आवतजावत गर्ने गरेको चितवनका प्रहरी प्रमुख दीपक थापा बताउनुहुन्छ ।

बेलाबेलामा सुख्खा पहिरोका कारण सास्ती पाउँदै आएका यात्रुले यहाँ वर्षाका बेलामा थप सास्ती पाउँदै आएका छन् । अघिल्लो महिनामा यहाँ सुख्खा पहिरो खसेर दुईजनाको ज्यान गएपछि सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा सडक चौडा पार्ने काम भइरहेको छ । कतिपय स्थानमा कालोपत्र गर्ने काम समेत थालिसकिएको आयोजनाको भनाइ छ । रासस

प्रकाशित मिति: ४ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News