असार ३० भित्र कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिने
विराटनगर, १६ असार । कोशी प्रदेशलाई आगामी असार ३० गतेभित्र पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिने भएको छ।
राष्ट्रिय खोप कार्यक्रमको समीक्षा तथा प्रदेश पूर्ण खोप सुनिश्चितता घोषणासम्बन्धी खोप समन्वय समितिको सोमबार विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले प्रदेशका १४ वटै जिल्लाले पूर्ण खोप सुनिश्चितताको घोषणा गरिसकेकाले अब प्रदेशस्तरीय घोषणा मात्र बाँकी रहेको बताए।
गत चैत ३ गतेदेखि असार १६ गतेसम्म कोशी प्रदेशका सबै १४ जिल्लाले पूर्ण खोप सुनिश्चितताको घोषणा गरेका छन्। चालु आर्थिक वर्ष २०८२/८३ मा पाँचथर प्रदेशमै पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको थियो भने असार १६ गते खोटाङले पनि पूर्ण खोप सुनिश्चितताको घोषणा गरेको छ।
कोशी प्रदेशका १३७ वटै स्थानीय तहका एक हजार १५७ वडाले पूर्ण खोप सुनिश्चितताको घोषणा गरिसकेको खोप अधिकृत भण्डारीले बताए।
सबै जिल्लाले घोषणा गरिसकेकाले अब प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी भइरहेको उनले बताए। खोप कभरेज कम हुनु तथा लक्ष्य र उपलब्धिबीच तालमेल नहुनु मुख्य चुनौती रहेको उनको भनाइ छ।
नेपाल सरकारले क्षयरोग, रोटा, पोलियो, न्यूमोनिया, मेनिन्जाइटिस, भ्यागुते रोग, लहरे खोकी, हेपाटाइटिस बी, धनुष्टङ्कार, दादुरा, रुबेला, जापानिज इन्सेफलाइटिस र टाइफाइडविरुद्ध निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा ० देखि १५ महिनासम्मका ७९ हजार ८२७ र १६ देखि ५९ महिनासम्मका दुई लाख आठ हजार २०१ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार












