हेल्मेटबिनै बुलेट चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, प्रहरीले काट्यो चिट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह हेल्मेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि ट्राफिक कारबाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ट्राफिक नियम उल्लंघन गरेको भन्दै मुख्यमन्त्री शाहलाई ५ सय रुपैयाँको चिट काट्दै कारबाही गरेको हो ।
घटनापछि मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटकमा ‘माननीय मुख्यमन्त्रीज्यू’ शीर्षकमा भिडियो सार्वजनिक गरेका थिए।
उक्त भिडियोमा मुख्यमन्त्री शाह सरकारी निवास परिसरभित्र हेल्मेटबिना बुलेट मोटरसाइकल चलाइरहेको देखिन्छ।
भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै मुख्यमन्त्रीको आलोचना सुरु भएको थियो ।
यता, प्रमुख स्वकीय सचिव खनालका अनुसार घटना मंगलबार रातिको हो।
मुख्यमन्त्री कार्यालयबाट सरकारी निवास पुगेपछि एक व्यक्तिले बुलेट मोटरसाइकल ल्याएका थिए। निवासको कम्पाउन्डभित्र मोटरसाइकल चलाउन सकिन्छ वा सकिँदैन भन्ने उद्देश्यले मुख्यमन्त्रीले केही समय मोटरसाइकल चलाएर परीक्षण गरेका थिए।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार












