अमेरिकामा पाँच दिनमै १० हजारभन्दा बढी आप्रवासी पक्राउ



वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अवैध आप्रवासीविरुद्धको कारबाहीलाई थप कडा बनाउँदै लगेपछि पछिल्लो पाँच दिनमै १० हजारभन्दा बढी आप्रवासी पक्राउ परेका छन् । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आईसीई)ले पक्राउको दर उल्लेखनीय रूपमा बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्राप्त विवरणअनुसार आईसीई नेतृत्वले हालै आफ्ना उच्च अधिकारीहरूलाई निर्वासनका लागि लक्षित आप्रवासीलाई प्राथमिकताका साथ पक्राउ गर्न निर्देशन दिएको थियो । त्यसपछि अधिकारीहरूले अध्यागमन कार्यालयमा नियमित रूपमा हाजिरी दिन पुगेका व्यक्तिदेखि सडक, सार्वजनिक स्थान तथा सवारी जाँचका क्रममा भेटिएका आप्रवासीसम्मलाई नियन्त्रणमा लिन थालेका छन् ।

यसअघि सन २०२६ को सुरुआती महिनाहरूमा दैनिक करिब एक हजार जनालाई मात्र पक्राउ गरिँदै आएको थियो । तर पछिल्ला केही दिनमा पक्राउ पर्नेको संख्या झण्डै दोब्बर हुँदै दैनिक दुई हजार को हाराहारी पुग्यो । आईसीईका अधिकारीहरूलाई ह्वाइट हाउसले पक्राउको संख्या उल्लेखनीय रूपमा बढाउन चाहेको जानकारी दिइएको स्रोतहरूले बताएका छन् । तीमध्ये एक अधिकारीका अनुसार दैनिक दुई हजार पक्राउ अब नयाँ कार्यसम्पादन मापदण्डका रूपमा लागू गरिएको छ ।

गत वर्ष जस्तो ठूला शहरहरूमा व्यापक सुरक्षा परिचालन गरेर अभियान सञ्चालन नगरी यसपटक अपेक्षाकृत शान्त ढंगले पक्राउ अभियान चलाइएको छ । अघिल्लो अभियानमा शिकागो र लस एन्जलस लगायतका शहरहरूलाई लक्षित गरिएको थियो । त्यसपछि मिनेसोटामा एक महिनाको कारबाहीका क्रममा दुई अमेरिकी नागरिकको मृत्यु भएपछि अभियानको व्यापक आलोचना भएको थियो ।

पछिल्लो अभियानले ट्रम्प प्रशासन आफ्नो चुनावी प्रतिबद्धता अनुसार ठूलो संख्यामा अवैध आप्रवासीलाई देशनिकाला गर्ने योजनामा दृढ रहेको देखाएको विश्लेषण गरिएको छ । ट्रम्पले अमेरिकी अध्यागमन नीतिलाई आफ्नो प्रशासनको प्रमुख प्राथमिकतामध्ये एक बनाएका छन् । यद्यपि, मानवअधिकार संगठन, आप्रवासी अधिकारकर्मी र विपक्षी राजनीतिक दलहरूले प्रशासनले अपनाएको कडा रणनीतिको आलोचना गर्दै आएका छन् ।

हालै अमेरिकाको सर्वाेच्च अदालतले संघीय अध्यागमन नीति निर्धारणमा राष्ट्रपतिको अधिकार विस्तार गर्ने निर्णय दिएपछि ट्रम्प प्रशासनले थप आक्रामक कदम चाल्ने संकेत दिएको छ । यद्यपि अदालतले अवैध आप्रवासी र अस्थायी रूपमा अमेरिका आएका व्यक्तिका सन्तानको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने प्रशासनको प्रयासलाई भने पूर्ण रूपमा स्वीकार गरेको छैन । ‘हाम्रो सन्देश स्पष्ट छ । यदि तपाईं गैरकानुनी रूपमा अमेरिकामा प्रवेश गर्नुभएको छ भने हामी तपाईंलाई खोज्नेछौँ, पक्राउ गर्नेछौँ र देशनिकाला गर्नेछौँ,’ अमेरिकी गृह सुरक्षा मन्त्रालयकी प्रवक्ता लरेन बिसले जारी गरेको वक्तव्यमा भनिएको छ ।

यसैबीच, सर्वाेच्च अदालतले युद्ध तथा प्राकृतिक विपत्तिबाट प्रभावित मुलुकका नागरिकलाई प्रदान गरिँदै आएको अस्थायी संरक्षित हैसियत (टीपीएस) अन्त्य गर्न ट्रम्प प्रशासनलाई बाटो खुला गरिदिएपछि आप्रवासी समुदायमा थप त्रास फैलिएको छ । अधिकारकर्मीहरूका अनुसार पक्राउ अभियान तीव्र भएसँगै धेरै आप्रवासी सार्वजनिक स्थानमा जान, काममा उपस्थित हुन वा आफ्ना बालबालिकालाई विद्यालय पुर्याउनसमेत डराउन थालेका छन् ।

आन्तरिक तथ्यांकअनुसार गत शनिबार मात्रै आईसीईले २ हजार ४ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको थियो, जुन पछिल्ला वर्षहरूकै उच्च दैनिक संख्या हो । यस्तै आईसीईका हिरासत केन्द्रमा राखिएका व्यक्तिको संख्या केही दिनमै करिब ४ हजारले बढेर ६३ हजारभन्दा बढी पुगेको छ ।

आईसीईको निर्वासन शाखाका प्रमुख मार्कोस चाल्र्सले आफ्ना कर्मचारीलाई पठाएको इमेलमा पछिल्लो अभियानको प्रशंसा गरेका छन् । उनले कर्मचारीहरूको समर्पण, व्यावसायिकता र निरन्तर प्रयासका कारण उल्लेखनीय सफलता हासिल भएको बताएका छन् । साथै वरिष्ठ अधिकारीहरूलाई सातै दिन सक्रिय रहन र उपलब्ध जनशक्तिको ८० प्रतिशत पक्राउ अभियानमै परिचालन गर्न निर्देशन दिइएको जनाइएको छ ।

गत वर्ष ट्रम्पका डेपुटी चिफ अफ स्टाफ स्टेफन मिलरले दैनिक तीन हजार पक्राउ गर्ने लक्ष्य तय गरेका थिए । त्यतिबेला उक्त लक्ष्य पूरा हुन सकेको थिएन । त्यसयता आईसीईले हजारौँ नयाँ कर्मचारी भर्ना गर्नुका साथै अध्यागमन कारबाहीका लागि अर्बौँ डलर अतिरिक्त बजेट प्राप्त गरेको छ । देशभरका अध्यागमन कानुन व्यवसायीहरूले पनि पक्राउको संख्या उल्लेखनीय रूपमा बढेको बताएका छन् । दक्षिण टेक्सासमा चर्च जाँदै गरेकी नाइजेरियाली नन सिस्टर लेटी उग्बोजा लाई आइतबार बिहान पक्राउ गरिएको थियो । उनी स्थानीय अस्पतालमा नर्सका रूपमा कार्यरत हुनुका साथै चर्चमा पनि सेवा गर्दै आएकी थिइन् । घटनापछि स्थानीय नेताहरू र सांसदहरूको हस्तक्षेपमा उनलाई सोही दिन रिहा गरिएको थियो । उनकी सहकर्मी सिस्टर नोर्मा पिमेन्टेलका अनुसार रिहापछि उनी अत्यन्तै भावुक भएकी थिइन र लामो समयसम्म बोल्न नसकेर रोइरहेकी थिइन् ।

फ्लोरिडामा अध्यागमन कानुन व्यवसायी सिन्डी ब्लान्डोन ले आफ्ना एक निकारागुआली सेवाग्राहीलाई नियमित अध्यागमन हाजिरीका क्रममा सोमबार पक्राउ गरिएको जानकारी दिएकी छन्। ती व्यक्तिको अध्यागमन अदालतमा सुनुवाइ सन २०२७ का लागि तोकिएको थियो।

यस्तै युटामा अध्यागमन कानुन व्यवसायी इसाबेल लोनाज्कोले पनि पक्राउको दर बढेको पुष्टि गरेकी छिन् । उनका अनुसार भिसाको अवधि सकिएपछि पनि बसिरहेका एक व्यक्तिलाई गाडी चलाइरहेका बेला पक्राउ गरिएको थियो । उनका शब्दमा, ‘यसले समुदायमा थप डर पैदा गरेको छ । मानिसहरू घरबाट बाहिर निस्कन, किनमेल गर्न वा गाडी चलाउनसमेत डराइरहेका छन्,’ ।

युटाको साल्ट लेक सिटीमा बस्दै आएका ४८ वर्षीय मेक्सिकी नागरिक आर्तुरोलाई आइतबार फुटबल खेल हेर्न जाँदै गर्दा पक्राउ गरिएको थियो । उनकी पत्नी भेरोनिकाका अनुसार उक्त घटनाले परिवारलाई गम्भीर मानसिक आघात पुगेको छ । पक्राउपछि आर्तुरोले फोनमार्फत मानिसहरूलाई जताततै पक्राउ गरिरहेका भन्दै धेरै सावधान रहन परिवारलाई सचेत गराएका थिए । उनका १३ वर्षीय छोराले पनि बाबुको पक्राउपछि ठूलो मानसिक तनाव भोगिरहेको बताइएको छ ।

गृह सुरक्षा मन्त्रालयका अनुसार आर्तुरो यसअघि देशनिकाला गरिएपछि पुनः गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका कारण उनलाई आईसीईको हिरासतमा राखिएको हो । तर उनकी पत्नीले परिवारले कुनै आपराधिक गतिविधिमा संलग्न नरहेको, नियमित रूपमा कर तिर्दै आएको र आफूहरू यसरी पक्राउ अभियानको निशाना बन्ने कल्पना पनि नगरेको बताएकी छन् ।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्