एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा प्रकाशन गरेको सदस्य सचिव जङ्गबहादुर अर्यालले जानकारी दिए ।

बोर्डले गत वैशाख २८ गते एसईई २०८२ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको थियो। उक्त नतिजाअनुसार ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए भने १ लाख ४६ हजार ५०७ जना विद्यार्थी नन–ग्रेडेड भएका थिए।

ती सबै विद्यार्थीलाई शैक्षिक अवसर सुनिश्चित गर्न बोर्डले ग्रेड वृद्धी (पूरक) परीक्षामा सहभागी हुने अवसर दिएको थियो।

परीक्षामा १ लाख ४८ हजार ५ सय ७ जना परीक्षार्थी रहेकामा १ लाख २९ हजार १ सय ९४ जना सहभागी भएका थिए।

ग्रेड वृद्धी (पूरक) परीक्षा असार १ गतेदेखि ७ गतेसम्म देशभर सञ्चालन गरिएको थियो ।

तीमध्ये ८३ हजार ५ सय २३ जना उत्तीर्ण भएका छन् ।

नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डले उपलब्ध गराउने आधिकारिक वेबसाइट, एसएमएस सेवा तथा अन्य आधिकारिक माध्यमबाट आफ्नो नतिजा हेर्न सक्नेछन् ।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्