तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने



काठमाडौँ। नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको छ । भानुभक्त जन्मस्थल विकास समितिले भानुजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी जयन्ती मनाउने तयारी गरेको हो ।

भानु नगरपालिकाका प्रमुख एवं भानु जन्मस्थल विकास समितिका अध्यक्ष आनन्दराज त्रिपाठीको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले यही असार २७, २८ र २९ गते तीन दिनसम्म विविध कार्यक्रम सञ्चालन गरी २१३औँ भानु जयन्ती मनाउने निर्णय गरेको हो ।


समितिका कार्यकारी सचिव कृपाहरी लौडारीका अनुसार असार २७ गते भानुभक्तसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न मठमन्दिरमा पूजाअर्चना गरिनेछ । असार २८ गते भानुभक्तीय रामायण वाचनरपाठ प्रतियोगिता आयोजना गरिनेछ भने साँझ साहित्यकार, कवि तथा स्रष्टाहरूको सहभागितामा विशेष कवि गोष्ठी हुनेछ ।

असार २९ गते बिहान भानुभक्तको शालिकमा माल्यार्पणपछि झाँकीसहितको प्रभातफेरी निकाल्ने कार्यक्रम तय भएको लौडारीले जानकारी दिए । त्यसपछि कविता वाचन, भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र कृतित्वमाथि विशेष छलफल तथा भानु जन्मस्थलको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारका विषयमा संवाद कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

बैठकमा भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठलगायतले भानु जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे ।

आदिकवि भानुभक्त आचार्यले नेपाली भाषामा रामायण अनुवाद गरेर साहित्यलाई जनताको पहुँचमा पुर्‍याएका कारण उनी नेपाली भाषा र साहित्यका अमर विभूतिका रूपमा चिनिन्छन् । उनका कृतिले नेपाली भाषाको विकासमा पुर्‍याएको योगदान आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ ।

विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादक पनि हुन् ।

मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तक प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए ।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्