नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला आज आउने



काठमाडौँ, २३ असार ।  बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले आज फैसला सुनाउने तयारी गरेको छ।

मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि न्यायाधीश तेजबहादुर खड्काको इजलासले फैसला लेख्ने प्रक्रिया अघि बढाएको हो। अदालतका सूचना अधिकारी शिव खतिवडाले आजै फैसला आउने तयारी रहेको बताए।

उनका अनुसार सबै प्रतिवादीको फैसला एकैपटक नआए पनि केहीको निर्णय आज सार्वजनिक हुन सक्छ।

यो मुद्दाको सुनुवाइ गत जेठ २७ गतेदेखि सुरु भएको थियो। त्यसयता मुद्दा ‘हेर्दाहेर्दै’मा राखी लगातार बहस गरिएको थियो।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पालगायत पूर्वमन्त्री, बहालवाला सचिव, गृहमन्त्रीका सुरक्षा सल्लाहकार, निजी सचिव तथा अन्य उच्चपदस्थ व्यक्ति प्रतिवादी छन्। रायमाझी हाल पुर्पक्षका लागि थुनामा छन् भने खाण धरौटीमा रिहा भएका छन्।

जिल्ला सरकारी वकिलको कार्यालयले २०८० जेठ १० गते पहिलो चरणमा ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा सङ्गठित अपराधको अभियोगमा मुद्दा दायर गरेको थियो। त्यसपछि २०८१ वैशाख ९ गते थप पाँच जना र बेचन झा पक्राउ परेपछि २०८१ साउन २९ गते अर्को मुद्दा दर्ता गरिएको थियो। अदालतले तीनवटै मुद्दालाई एकीकृत गरेर सुनुवाइ गरेको हो।

अभियोगअनुसार नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गरिएको थियो। गृह मन्त्रालयसँगको मिलेमतोमा वास्तविक शरणार्थीको सूचीमा नेपाली नागरिकको नाम समावेश गराइदिने आश्वासन दिएर सङ्गठित रूपमा ठगी गरिएको अभियोजन पक्षको दाबी छ।

अभियोजन पक्षले प्रतिवादीहरूमाथि ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधमा सजायको माग गरेको छ।

यस चर्चित प्रकरणको फैसला उच्चपदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिहरूको कानुनी भविष्यसँगै बहुचर्चित शरणार्थी घोटालाको न्यायिक निष्कर्षका रूपमा हेरिएको छ।

फैसला सुन्न प्रतिवादीका आफन्त, शुभेच्छुक तथा सरोकारवालाहरू जिल्ला अदालत परिसरमा उपस्थित भएका छन्।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्