नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी र खाणसहित १४ जना दोषी, ७ जनाले पाए सफाइ
काठमाडौँ, २३ असार । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १४ जनालाई दोषी ठहर गरेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मङ्गलबार ठगी, सङ्गठित अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दामा फैसला सुनाउँदै उनीहरूलाई दोषी ठहर गरेको हो। सजाय निर्धारण भने अदालतले पछि गर्नेछ।
अदालतले पूर्वगृहमन्त्री खाणलाई ठगी तथा सङ्गठित अपराधमा मतियारको भूमिकामा दोषी ठहर गरेको छ। रायमाझीलाई भने सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको छ।
यसैगरी पूर्वगृहसचिव टेकनारायण पाण्डे, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, आङटावा शेर्पा, डा. इन्द्रजीत राई, टेकनाथ रिजाल, शम्सेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई पनि विभिन्न कसुरमा दोषी ठहर गरिएको छ।
अदालतले रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई भने सबै आरोपबाट सफाइ दिएको छ।
सफाइ पाउनेमध्ये सन्दीप रायमाझी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् भने प्रतिक थापा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा हुन्।
यो मुद्दामा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाई ठूलो रकम ठगी गरिएको आरोपमा ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा अभियोजन गरिएको थियो।
अदालतको यस फैसलाले देशकै चर्चित भ्रष्टाचार तथा ठगी प्रकरणमध्ये एक मानिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलो तहको न्यायिक निष्कर्ष दिएको छ। अब दोषी ठहर भएका प्रतिवादीको सजाय निर्धारण तथा फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने बाटो खुला रहनेछ।
प्रकाशित मिति: २३ असार २०८३, मंगलबार












