सरकारले सय दिनमै ८७ प्रतिशत लक्ष्य पूरा गर्‍यो : अर्थमन्त्री वाग्ले



काठमाडौँ, २३ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले कार्यकालको पहिलो सय दिनमै उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेका छन्।

मङ्गलबार राष्ट्रियसभाको बैठकमा अर्थ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारले सय दिनका लागि तय गरेका कार्यक्रममध्ये ८७.२ प्रतिशत लक्ष्य पूरा गरेको बताए।

उनका अनुसार सरकारले आफैँले तय गरेको कडा मापदण्डअनुसार काम गर्दै उल्लेखनीय प्रगति हासिल गरेको हो।

अर्थमन्त्री वाग्लेले केही काम भने सरकारको एकल नियन्त्रणमा नपर्ने भएकाले अपेक्षाअनुसार अघि बढ्न नसकेको स्पष्ट पारे। विशेषगरी विधेयक पारित गर्ने प्रक्रिया संसद्सँग पनि सम्बन्धित भएकाले त्यसमा केही ढिलाइ भएको उनको भनाइ छ।

उनले अर्थ मन्त्रालयको जिम्मेवारीमा रहेका सय दिनका सबै कार्यक्रम भने सफलतापूर्वक सम्पन्न भएको बताए।

मन्त्री वाग्लेले सरकारले निर्वाचनअघि जनतासँग गरेका प्रतिबद्धता कार्यान्वयन गर्न इमानदार रूपमा काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यही प्रतिबद्धताका साथ अघि बढ्ने बताए।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्