लमजुङ जाँदै गरेको बस मनहरीमा पल्टिदाँ ५ जना घाइते, चालकको अवस्था गम्भीर
मकवानपुर। मकवानपुर यात्रुवाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
जल्लाको मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्व-पश्चिम राजमार्गमा वीरगञ्जबाट लमजुङतर्फ जाँदै गरेको ना ५ ख ५३१९ नम्बरको १६ जना सवार बस मंगलबार राति दुर्घटना भएको हो ।
प्रहरीका अनुसार स्टेरिङको टाइरड भाँचिएपछि बस अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिएको थियो ।
दुर्घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय मनहरीबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार, बस चालक, सर्लाहीका ३९ वर्षीय भीम बहादुर बिक, यात्रुहरू चितवन, भरतपुर–४ का ३० वर्षीय संजय तामाङ, पर्सा, परवानीपुरका ५४ वर्षीय मोहम्मद आजाद, बारा, देवताल–१ का २३ वर्षीय राजकुमार राम र भारत, मोतिहारीका २५ वर्षीय सुदिर कुमारको घाइते भएका छन् ।
चालक विकको टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य चार जनाको अवस्था सामान्य छ।
घाइतेलाई उद्धार गरी उपचारका लागि मनहरी अस्पतालमा पठाइएको र त्यहाँबाट चितवन रिफर गरिएको छ ।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार










