सरकारी कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ, कार्यालय पोसाकमा खिचिएका फोटो–भिडियो पोस्ट गर्न रोक !
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूको आचरण, अनुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ लागू गरेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताले सामाजिक सञ्जालको प्रयोगदेखि सेवाग्राहीसँगको व्यवहारसम्मका विषयमा स्पष्ट मापदण्ड तय गरेको छ।
मन्त्री प्रतिभा रावलको असार १६ गतेको निर्णयबाट स्वीकृत भएको आचारसंहिता असार २२ गतेदेखि कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ। आचारसंहिता सबै मन्त्रालय, विभाग, कार्यालय तथा मातहतका निकायमा पठाइसकिएको छ।
नयाँ व्यवस्थाअनुसार कर्मचारीले कार्यालय समय, कार्यालय परिसर वा फिल्डमा सरकारी पोसाकमा खिचिएका फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्न पाउने छैनन्। यद्यपि, शिक्षामूलक, जनचेतनामूलक वा सूचनामूलक सामग्रीका हकमा भने यो व्यवस्था लागू हुने छैन।
त्यस्तै फेसबुक, एक्स (ट्विटर), ह्वाट्सएप, टिकटक लगायतका सामाजिक सञ्जाल प्रयोग गर्दा सरकारी सेवाको मर्यादा, निष्पक्षता र विश्वसनीयतामा आँच पुग्ने कुनै पनि गतिविधि नगर्न कर्मचारीलाई निर्देशन दिइएको छ। सरकारको नीति तथा कार्यक्रमविपरीत लेख, टिप्पणी वा अभिव्यक्ति सार्वजनिक गर्न पनि रोक लगाइएको छ।
आचारसंहिताले सेवाग्राहीसँगको व्यवहारलाई पनि प्राथमिकता दिएको छ। कर्मचारीले सबै सेवाग्राहीसँग शिष्ट, सम्मानजनक र समान व्यवहार गर्नुपर्ने, कुनै पनि प्रकारको पक्षपात, पूर्वाग्रह वा मोहलाहिजा नगर्नुपर्ने तथा धर्म, जात, वर्ण, लिङ्ग वा अन्य कुनै आधारमा विभेद गर्न नपाइने उल्लेख गरिएको छ।
यस्तै, कर्मचारीले कार्यस्थल बाहिर सेवाग्राहीसँग व्यक्तिगत भेटघाट गर्न नपाउने, सेवाग्राहीको प्रतिनिधि वा एजेन्टका रूपमा काम गर्न नहुने तथा आफ्नो पद र अधिकारको दुरुपयोग गरी व्यक्तिगत वा पारिवारिक लाभ लिन नपाउने व्यवस्था गरिएको छ।
कार्यालय अनुशासनलाई थप कडाइ गर्दै कार्यालय समयको पूर्ण पालना, तोकिएको पोसाक र परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ। साथै कार्यालय वा सार्वजनिक स्थानमा मदिरा सेवन, धूम्रपान, जुवातास खेल्ने लगायतका अमर्यादित गतिविधिमा संलग्न हुन नपाइने स्पष्ट व्यवस्था गरिएको छ।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार










