नागरिकले आत्मदाह गरिरहँदा सरकार कहाँ छ? : दुलाल



काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले उक्त घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

प्रमुख सचेतक दुलालले राहदानी प्राप्त गर्न भएको ढिलाइका कारण आजित भएर एक अज्ञात पुरुषले आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याई आत्मदाहको प्रयास गरेको प्रारम्भिक जानकारी आएको संसद्लाई जानकारी गराए। सम्बोधनका क्रममा दुलालले सरकारी सेवा प्रवाहको चुस्तता र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाए।

उनले भने, ‘जनताको घरदैलोमै राहदानी पुर्‍याउने उद्घोष गरेको सरकारले सेवा प्रवाहमा ढिलाइ गरेकै कारण सेवाग्राहीले यस्तो आत्मघाती कदम चाल्नुपरेको देखिन्छ।’ त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक पीडित सेवाग्राहीले आफ्नो शरीरमा आगो लगाइरहँदा सरकार कहाँ छ भनी उनले प्रश्न गरे। उनले थपे, ‘कति नागरिकले आत्मदाह गरेपछि मात्र राहदानी घरघरमा पुग्ने हो?’

उक्त घटनाप्रति दुःख प्रकट गर्दै प्रमुख सचेतक दुलालले सरकारलाई नागरिकका समस्याप्रति संवेदनशील हुन र सेवा प्रवाहलाई तत्काल सुधार गर्न आग्रह गरे।

प्रकाशित मिति: २५ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्