टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
काठमाडौं । टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै सन् २०२६ को पहिलो त्रैमासिक (जनवरी-मार्च) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ ।
उक्त प्रतिवेदनमा जनवरीदेखि मार्च २०२६ सम्म टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टलाई पहिचान गरी हटाउन अपनाएका सक्रिय कदमहरूको विवरण समेटिएको छ । यसले विश्वभरका प्रयोगकर्ताका लागि सकारात्मक अनुभव सुनिश्चित गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
सन् २०२६ को पहिलो त्रैमासिकमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेका १९ लाख ६१ हजार ६९८ वटा भिडियो हटाइएको छ । यो अवधिमा प्रकाशित भएका कुल भिडियोमध्ये करिब ०.४ % भिडियो हटाइएको जनाइएको छ ।
जनवरीदेखि मार्च २०२६ सम्म कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्टलाई सक्रिय रूपमा हटाउने दर ९९.२% रहेको थियो, जसमध्ये ८६.५ % भिडियो पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको थियो । यसै अवधिमा नेपालमा ६१ हजार ९९२ वटा भिडियो थप समीक्षापछि पुनःस्थापित गरिएको कम्पनीले जनाएको छ ।
विश्वव्यापी रूपमा हेर्दा, यस अवधिमा टिकटकले १८४ मिलियन (१८४,०१२,५७६) वटा भिडियो हटाएको छ, जुन प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५% हो । हटाइएका भिडियोमध्ये १७,८०,१४,१५४ वटा भिडियो अटोमेटेड डिटेक्सन प्रविधिमार्फत पहिचान गरी हटाइएको थियो भने थप समीक्षापछि ८८,३८,७१० वटा भिडियो पुनःस्थापित गरिएको थियो ।
यस अवधिमा कन्टेन्टलाई सक्रिय रूपमा हटाउने दर ९९.३% पुगेको थियो भने फ्ल्याग गरिएका कन्टेन्टमध्ये ९४.४% पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको थियो । टिकटकको विश्वसनीयता कायम राख्ने प्रयासअन्तर्गत यस त्रैमासिकमा ८,६२,८८,७०५ वटा फेक एकाउन्ट हटाइएका छन् । साथै, १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंका गरिएका २,५७,६४,३७२ वटा एकाउन्ट पनि हटाइएको कम्पनीले जनाएको छ ।
प्रतिवेदनले टिकटकको कन्टेन्ट मोडेरेसन प्रणाली निरन्तर विकसित हुँदै गएको देखाएको छ । अहिले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने अधिकांश कन्टेन्ट अटोमेसन प्रविधिमार्फत पहिचान गरी हटाइँदै आएको छ ।
प्रतिवेदनमा विभिन्न प्रकारका कन्टेन्टमाथिको कार्यान्वयन प्रवृत्तिबारे पनि जानकारी दिइएको छ । भिडियो हटाउने दर ०.५% मा स्थिर रहँदा कमेन्ट हटाउने दर घट्दै करिब ०.२% मा पुगेको छ ।
यसैबीच, टिकटक लाइभमा हुने गतिविधिमाथिको निगरानी थप कडा बनाइएको जनाइएको छ । लाइभ प्रसारण सस्पेन्सन दर बढेर २.७% पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो । यसले प्रत्यक्ष प्रसारणका क्रममा पनि सुरक्षित वातावरण कायम राख्न टिकटकले गरेको निरन्तर लगानीलाई प्रतिबिम्बित गर्छ ।
यस अवधिमा टिकटकले ५,८२,०७,३८९ वटा लाइभ सेसनमा चेतावनी दिने वा मनिटाइजेसन बन्द गर्ने कारबाही गरेको छ । साथै २,१९,६६,६६७ जना लाइभ क्रियटरमाथि पनि यस्तै कारबाही गरिएको थियो । थप समीक्षापछि ४१,७१,६७७ वटा लाइभ सेसन पुनःस्थापित गरिएको थियो ।
कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट नियमित रूपमा सार्वजनिक गर्दै आएको टिकटकले कन्टेन्ट तथा एकाउन्टमाथि गरिएका कारबाहीको परिमाण र प्रकृतिबारे पारदर्शी जानकारी उपलब्ध गराउँदै आएको छ । सन् २०२६ को पहिलो त्रैमासिक प्रतिवेदन तथा टिकटकका कन्टेन्ट गाइडलाइन्स, टुल्स र नीतिबारे थप जानकारीका लागि अंग्रेजी भाषामा उपलब्ध टिकटक ट्रान्सपेरेन्सी सेन्टर हेर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
टिकटक छोटो आकारका मोबाइल भिडियोका लागि विश्वकै अग्रणी प्लेटफर्म हो । कम्पनीका अनुसार यसको उद्देश्य सिर्जनशीलतालाई प्रेरित गर्नु र खुसी फैलाउनु हो । टिकटकका विश्वव्यापी मुख्यालय लस एन्जलस र सिंगापुरमा रहेका छन् । साथै न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जकार्ता, सियोल र टोकियो लगायतका सहरमा यसको कार्यालयहरू सञ्चालनमा छन् ।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार










