अमेरिका–इरान तनाव थप चर्कियो, इरानको जवाफी आक्रमणपछि मध्यपूर्वमा सुरक्षा चिन्ता



दुबई, २६ असार संयुक्त राज्य अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकाले इरानका विभिन्न सैन्य लक्ष्यमा आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा सहयोगी राष्ट्रलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको जनाएको छ।

यसैबीच, इरानका पूर्व सर्वोच्च नेता अली खमेनीको उहाँको गृहनगर मशहदमा अन्त्येष्टि गरिएको छ। इजरायलले भने आवश्यक परे इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न तयार रहेको चेतावनी दिएको छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार खमेनीलाई मशहदस्थित इमाम रेजा मन्दिर परिसरको स्मारक हलमा दफन गरिएको हो। अन्त्येष्टिमा हजारौँ समर्थक सहभागी भएका थिए। धेरैले शिया परम्परामा प्रतिशोधको प्रतीक मानिने रातो झण्डा बोकेका थिए।

अमेरिकी आक्रमणका कारण रेलमार्गमा क्षति पुगेपछि तेहरान–मशहद रेल सेवा अस्थायी रूपमा स्थगित गरिएको सरकारी टेलिभिजनले जनाएको छ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच पछिल्लो सुरक्षा अवस्थाबारे टेलिफोन संवाद भएको नेतान्याहुको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार दुवै देशबीच सुरक्षा तथा रणनीतिक विषयमा निरन्तर समन्वय भइरहेको छ।

इरानी सञ्चारमाध्यमका अनुसार बुसेहर बाहिर रहेको एक सैन्य मुख्यालय अमेरिकी–इजरायली क्षेप्यास्त्रको निशानामा परेको छ। यद्यपि अमेरिकी रक्षा अधिकारीका अनुसार हाल अमेरिकाले इरानमाथि कुनै नयाँ आक्रमण गरेको छैन।

इरानले बहराइन, कुवेत र कतारस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी दर्जनौँ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको जनाएको छ। अमेरिकी रक्षा अधिकारीका अनुसार अधिकांश आक्रमण रोकिएका वा निष्प्रभावी पारिएकाले कुनै अमेरिकी सैनिक हताहत भएका छैनन्। बहराइनको राजधानी मनामामा विस्फोटको आवाज सुनिएपछि हवाई आक्रमणको साइरनसमेत बजाइएको थियो।

इजरायली रक्षामन्त्री इजरायल काट्जले आवश्यक परे इरानविरुद्धको सैन्य अभियान अझ सशक्त रूपमा पुनः सञ्चालन गर्न सेना पूर्ण तयारीमा रहेको स्पष्ट पार्नुभयो।

जोर्डनले पनि आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठ इरानी क्षेप्यास्त्र खसालिएको जनाएको छ। सरकारी अधिकारीका अनुसार उक्त घटनाबाट कुनै मानवीय वा भौतिक क्षति भएको छैन।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दुई दिनमा भएका अमेरिकी आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ७८ जना घाइते भएका छन्। त्यस्तै, दक्षिणी होर्मोजगान प्रान्तको सिरिक बन्दरगाहमा भएको अर्को अमेरिकी आक्रमणमा थप तीन जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्।

सैन्य तनाव बढिरहेका बेला विश्व शेयर बजारले भने सकारात्मक प्रतिक्रिया देखाएको छ। अमेरिकी प्रविधि कम्पनीहरूको शेयर मूल्य बढेपछि नास्डाक सूचकाङ्क १.३ प्रतिशतले उकालो लागेको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा सामान्य गिरावट आएको छ।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्