गणेश नेपाली आत्मदाह प्रकरण : सरकार र परिवारबीच वीर अस्पतालमा वार्ता सुरु
काठमाडौँ, २६ असार । आत्मदाहका प्रयासपछि निधन भएका गणेश नेपालीको घटनालाई लिएर सरकार र मृतकका परिवारबीच छलफल सुरु भएको छ। स्रोतका अनुसार अहिले वीर अस्पतालमा सरकारी पक्ष र परिवारबीच वार्ता जारी छ।
परिवार तथा आफन्तले घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै हालसम्म शव बुझेका छैनन्। यही विषयमा सहमति खोज्न सरकारी पक्षले वार्ता थालेको हो।
स्रोतका अनुसार वार्ताको समन्वय गृहमन्त्री सुधन गुरुङनिकट मुगुका नेता अनिल बानियाँले गरिरहनुभएको छ। प्रधानमन्त्रीको सचिवालयका प्रतिनिधिहरू पनि वार्तामा सहभागी रहेको बताइएको छ।
वार्तामा मृतक गणेश नेपालीका बुबा, आमा र दाजुको सहभागिता रहेको छ। अन्य व्यक्तिलाई भने वार्तास्थलमा प्रवेश दिइएको छैन। मृतकका बुबा–आमालाई आजै मुगुबाट काठमाडौँ ल्याइएको हो।
यस घटनाबारे सरकारले वार्तामार्फत समाधान खोज्ने प्रयास गरिरहेको छ भने वार्ताको निष्कर्ष आउन बाँकी रहेको छ।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार










