महालक्ष्मी विकास बैंकद्वारा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालन



काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकलाई आधुनिक, सहज र प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ काठमाडौँ महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ।

शुक्रबार आयोजित कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय ले डिजिटल हबको औपचारिक उद्घाटन गर्नुभयो। कार्यक्रममा सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका पदाधिकारी तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो।

बैंकका अनुसार डिजिटल बैंकिङ सेवालाई थप सुरक्षित, आधुनिक र ग्राहकमैत्री बनाउने रणनीतिअनुसार डिजिटल हबमा कफी लाउन्जको सुविधा पनि थप गरिएको हो। यसमार्फत ग्राहकले आरामदायी वातावरणमा बसेर नगद जम्मा, नगद झिक्ने, चेक क्लियरिङ तथा अन्य डिजिटल बैंकिङ सेवा प्रयोग गर्न सक्नेछन्।

बैंकले नेपालको बैंकिङ क्षेत्रमा कफी लाउन्जसहितको यस्तो अवधारणा लागू गर्ने आफू सम्भवतः पहिलो बैंक भएको जनाएको छ।

यस डिजिटल हबबाट ग्राहकलाई डिजिटल बैंकिङसम्बन्धी परामर्श सेवा पनि उपलब्ध गराइनेछ। विशेषगरी युवापुस्तालाई डिजिटल बैंकिङतर्फ आकर्षित गर्ने, वित्तीय साक्षरता अभिवृद्धि गर्ने र डिजिटल सेवाको पहुँच विस्तार गर्ने लक्ष्य बैंकले लिएको छ।

महालक्ष्मी विकास बैंकले नेपाल राष्ट्र बैंकको रेगुलेटरी स्यान्डबक्स अवधारणाअनुसार वित्तीय क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै आगामी दिनमा थप नवीन डिजिटल सेवा विस्तार गर्ने प्रतिबद्धता पनि जनाएको छ।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्