महिला उद्यमीका लागि सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ योजना
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ योजना सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार महिला स्वामित्व वा नेतृत्वमा रहेका लघु, साना तथा मझौला उद्यमलाई लक्षित गरी ल्याइएको यस योजनाअन्तर्गत महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन्। त्यसैगरी आंशिक धितोमा २५ लाख रुपैयाँसम्म र पूर्ण धितोमा ५० लाख रुपैयाँसम्म कर्जा सुविधा उपलब्ध गराइनेछ।
कर्जा मूल्याङ्कनलाई थप वैज्ञानिक र व्यवसायमैत्री बनाउन बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) को प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्याङ्कन प्रणाली विकास गरेको जनाएको छ।
यस प्रणालीले परम्परागत बैंकिङ अभ्यासअनुसार धितोलाई मात्र आधार नबनाई व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह तथा उद्यमीको क्षमतालगायत पक्षको समग्र मूल्याङ्कन गर्नेछ।
बैंकका अनुसार यस व्यवस्थाले धितो अभावका कारण कर्जा सुविधाबाट वञ्चित हुने अवस्थालाई न्यूनीकरण गर्दै व्यवसायको सम्भावनालाई प्राथमिकता दिने विश्वास लिइएको छ।
कर्जा योजनाबारे थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार










