सुधनमाथि शंकरकाे कटाक्ष : गृहमन्त्रीले मधेसमा आत्मदाह घटनाको दोष कसको टाउकोमा थुपार्ने हाेलान् ?



काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गृहमन्त्री सुधन गुरुङले शुक्रबार प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्ति गैरजिम्मेवार र आपत्तिजनक भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पोखरेलले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी सञ्चालन सम्बन्धी विषयमा गृहमन्त्रीले तथ्य विपरीत अभिव्यक्ति दिएको आरोप लगाए।


उनले नगर प्रहरीको नेतृत्व कानुनअनुसार प्रमुख प्रशासकीय अधिकृतले गर्ने व्यवस्था रहेको र महानगरमा प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार अझै सङ्घीय सरकारकै क्षेत्राधिकारमा रहेको उल्लेख गरे।

उनले विगतमा सस्तो लोकप्रियताका लागि घृणाको राजनीति गर्नेहरू अहिले सरकारमा पुगेपछि आफ्नो जिम्मेवारीबाट पन्छिँदै अरूमाथि दोषारोपण गर्न व्यस्त रहेको टिप्पणी गरे।

बिहीबार त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह गरेको घटनाको सन्दर्भमा गृहमन्त्रीले महानगर प्रहरीलाई दोषी ठहर गरिएकोप्रति पोखरेलले असन्तुष्टि जनाए।

जरिवाना लगाउने तथा असुल गर्ने जिम्मेवारी महानगर प्रहरीको नभई गृह मन्त्रालयअन्तर्गतको ट्राफिक प्रहरीको भएको उनको भनाइ छ। महासचिव पोखरेलले मधेस प्रदेशको सर्लाहीमा भएको अर्को आत्मदाह घटनाको दोष गृहमन्त्रीले कसको टाउकोमा थुपार्ने होलान् भन्दै कटाक्ष गरेका छन्।

आज मात्रै सर्लाहीको गोडैता नगरपालिका–१० का विवेक मण्डलले पेट्रोल छर्केर आफैँलाई आगो लगाएर आत्मदाह प्रयास गरेका थिए। आत्मदाह प्रयास गरेका मण्डललालाई काठमाडौँ ल्याइएको छ।

पोखरेलले समाजलाई भय, त्रास र दोषारोपणको आधारमा नभई विधिको शासन, कानुनी प्रक्रिया र मानवीयताको मार्गबाट अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्