ऊर्जा क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर : प्रधानमन्त्री शाह



काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकीकरण र हरित विकासको प्रमुख आधार भएको बताउनुभएको छ।

सिंहदरबारमा शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले ऊर्जा उत्पादनको विस्तारले नेपालको निर्यात व्यापार प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो।

उहाँले ऊर्जा उत्पादन र प्रवर्द्धनका क्रममा देखिएका समस्या, अवसर र चुनौतीबारे इपानले उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रधानमन्त्री शाहले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र अन्य सरोकारवाला निकायसँग सहकार्य गरेर देखिएका समस्या समाधानमा सरकार अघि बढ्ने आश्वासन दिनुभयो।

छलफलमा जलविद्युत् विकास, ऊर्जा क्षेत्रमा निजी लगानी विस्तार, उद्योग तथा व्यवसाय प्रवर्द्धन र ऊर्जा क्षेत्रमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

इपानले विद्युत् खरिद सम्झौता (पीपीए) सहजीकरण, रोकिएका आयोजना अघि बढाउने, प्रसारण लाइन र ग्रिड पहुँच विस्तार, वन तथा जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया सरल बनाउने, अनुमतिपत्र नवीकरण सहज गर्ने तथा विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउने विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो।

छलफलमा ऊर्जा क्षेत्रमा लगानीको सुरक्षा सुनिश्चित गर्दै थप लगानीमैत्री वातावरण निर्माण गर्ने विषयमा पनि कुराकानी भएको थियो।

बैठकमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, स्वकीय सचिव नवीन भण्डारी तथा इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन, उपाध्यक्षहरू हिमप्रसाद पाठक, सुशन कर्माचार्य, उत्तरकुमार श्रेष्ठ, प्रमुख सल्लाहकार गणेश कार्की, महासचिव टी.एन. आचार्यलगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्