आफ्नै सरकारमाथि अमरेश सिंहको असन्तुष्टि, भने- जनतामा आशा जगाउन सकेन
काठमाडौं । सत्तारुढ दल रास्वपाका सांसद अमरेशकुमार सिंहले वर्तमान सरकारले पनि जनतामा आशा र भरोसा जगाउन नसकेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सिंहले देशमा निराशा बढ्दै गएकाले सबै राजनीतिक दल राष्ट्रिय मुद्दामा एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका हुन्।
सर्लाहीका युवा विवेक मण्डलको उपचारका क्रममा भएको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पछिल्लो समय युवाहरू आत्मदाह गर्न बाध्य भएको अवस्था गम्भीर चिन्ताको विषय भएको बताए।
उनले भने- ‘म भारी र दुःखी मन लिएर संसद्मा उपस्थित भएको छु। यो हप्तामै तीन जना युवाले आत्मदाह गरेका छन्। हामी राज्य सञ्चालन गरिरहेका छौँ तर जनतामा चरम निराशा छ। देशमा बाँच्न सकिँदैन, केही गर्न सकिँदैन भन्ने भाष्य बन्दै गएको छ।’
सिंहले संसद्बाट निराशा फैलाउने होइन, आशा जगाउने सन्देश जानुपर्नेमा जोड दिए। राज्य र लोकतन्त्र सुरक्षित रहे मात्रै राजनीति सम्भव हुने उल्लेख गर्दै उनले सबै दललाई जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरे।
उनले व्यवसायी, युवा, विद्यार्थीदेखि आम नागरिकसम्म सरकारबाट अपेक्षित भरोसा पाउन नसकेको दाबी गर्दै राष्ट्रिय मुद्दामा सबै दलबीच सहकार्य आवश्यक रहेको बताए।
सिंहले सभामुखमार्फत सबै राजनीतिक दललाई साझा राष्ट्रिय एजेन्डा तय गरेर मुलुकलाई वर्तमान संकटबाट बाहिर निकाल्न पहल गर्न आग्रह गरे।
प्रकाशित मिति: ३० असार २०८३, मंगलबार










