कोठा भाडाको पनि वैज्ञानिक मापदण्ड बनाइयोस्: सांसद रमेश प्रसाईँ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईँले घरभाडा निर्धारणमा स्पष्ट मापदण्ड नहुँदा विद्यार्थी र निम्न–मध्यम वर्ग सबैभन्दा बढी मारमा परेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोलेका प्रसाईँले घरबेटीहरूले आफ्नो इच्छाअनुसार घरभाडा निर्धारण गर्ने गरेको आरोप लगाउँदै सानो कोठाकै भाडा ८ देखि १० हजार रुपैयाँसम्म पुग्नुको आधार के हो भन्ने प्रश्न पनि उनले उठाएका छन्।

‘हामी जस्ताले भाडा तिरेरनै हजारौँ घरबेटीको घर चलेको छ । अनि सानो कोठाको भाडा ८ हजार, ९ हजार १० हजार १ कुन मापदण्डमा टेकेर कसरी निर्धारण गरिन्छ रु घरबेटीको इच्छा बाहेक अर्को मापदण्ड छैन, भएको पनि लागू भएको छैन । यो सामान्य विषय होइन सम्माननीय सभामुख महोदय । दुर दराजबाट आएर घरबाट खर्च मगाएर पढ्ने विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदुर र निम्न मध्यम वर्गीयसँग प्रत्यक्ष दैनिक सरोकार भएको विषय हो,’ उनले भने।

दूरदराजबाट अध्ययनका लागि सहर आउने विद्यार्थी, दैनिक ज्यालादारी गर्ने श्रमिक तथा निम्न–मध्यम वर्गीय परिवार घरभाडाको चर्को बोझमा परेको उल्लेख गर्दै सरकारले बहाल कर उठाउने तर भाडामा बस्ने नागरिकको समस्याप्रति बेवास्ता गर्ने गरेको उनको आरोप थियो।

सांसद प्रसाईँले बसभाडा निर्धारण गरेजस्तै घरभाडाको पनि वैज्ञानिक मापदण्ड तय गर्न सरकारको ध्यानाकर्षण गराउँदै यस विषयमा आवश्यक नीति ल्याउन उनले सरकारले घरभाडा व्यवस्थापनका लागि वैज्ञानिक मापदण्ड बनाउनुपर्ने माग गरेका छन्।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्