सिंहदरबारभित्रै सरकारी कर्मचारीहरुले गरे आन्दोलन
काठमाडौं । देशकै मुख्य प्रशासनिक स्थान सिंहदरबार भित्रै सरकारी कर्मचारीहरुले प्रदर्शन गरेका छन् । सरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि त्यसविरुद्ध पीडित कर्मचारी आज पनि विरोधमा उत्रिएका हुन् ।
मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरुले आज काम बन्द गरेर सिंहदरबारभित्र जम्मा भएका छन् ।
सरकारको निर्णयले संघ, प्रदेश र स्थानीय तहमा गरी करिब ५७ हजार कर्मचारी सेवाबाट रित्तो हात सेवाबाट बहिर्गमन हुने भन्दै उनीहरू विरोधमा उत्रिएको जनाएका छन् ।
अहिले संघ सरकार मातहत करिब १४ हजार, प्रदेश मातहतमा ८ हजार र स्थानीय तह मातहतमा ३५ हजार करार र दैनिक ज्यालादारी कर्मचारी कार्यरत छन् ।
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी श्रमिक संघका अध्यक्ष काशीराज श्रेष्ठका अनुसार शिक्षा र स्वास्थ्य क्षेत्रमा यही प्रकृतिका कर्मचारीहरूको पनि गणना गर्दा सरकारको यो निर्णयले करिब २ लाख जनाले जागिर गुमाउने अवस्था छ ।
नयाँ आर्थिक वर्ष (साउन १ गतेदेखि) उनीहरूलाई हटाउने सरकारको तयारी छ । उनीहरूलाई हटाएर ‘आउटसोर्सिङ’बाट कर्मचारी पूर्ति गर्ने गरी सरकारी गृहकार्य छ । कतिपय कर्मचारीहरुले विगत २५ वर्षदेखि करार र ज्यालादारीमा सेवा दिइरहेका छन् ।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार










