सेयर लगानीकर्तालाई अर्थमन्त्री वाग्लेले भने – अफवाह होइन, आधिकारिक सूचनामा विश्वास गर्नुस्



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पछिल्ला दिनमा सेयर बजारमा देखिएको उतारचढावका बीच लगानीकर्तालाई अफवाहको पछि नलागी आधिकारिक सूचनाका आधारमा मात्रै निर्णय लिन आग्रह गरेका छन् ।

नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा जारी शुभकामना सन्देशमा अर्थमन्त्रीको सचिवालयले सरकार गठनयता सेयर बजारमा आएको गिरावटप्रति लगानीकर्ताको चिन्ता स्वाभाविक रहेको स्वीकार गर्दै समग्र अर्थतन्त्रका प्रमुख सूचकहरू सुधारोन्मुख रहेको जनाएको छ।

सचिवालयका अनुसार मुलुकमा पर्याप्त तरलता, घट्दो ब्याजदर, कर नीतिमार्फत लगानी र खर्च प्रवर्द्धन, राजस्व विवादमा परेकालाई विशेष छुटसहित पुनः व्यवसाय सञ्चालनको अवसर तथा स्थिर राजनीतिक वातावरणले आर्थिक गतिविधिलाई सकारात्मक दिशातर्फ अघि बढाइरहेको छ।

साथै, नियामक निकायहरूमा पारदर्शी र इमानदार नेतृत्व नियुक्त गरिएकाले पुँजी बजार सुधारका योजनाबद्ध काम भइरहेको दाबी गरिएको छ।

सन्देशमा धितोपत्र बजारलाई व्यवस्थित बनाउन नियामक निकायले आवश्यक कदम चालिरहेको र बजारमा कृत्रिम प्रभाव पार्ने तथा अनियमित गतिविधिमा संलग्न व्यक्तिमाथि अनुसन्धान जारी रहेको उल्लेख गरिएको छ।

तर, नामै तोकेर व्यक्तिलाई पक्राउ गर्न लागिएको वा अनुसन्धान भइरहेको भन्ने हल्ला निराधार रहेको स्पष्ट पार्दै सरकारले त्यस्तो ढंगले काम नगरेको जनाएको छ।

अर्थमन्त्रीको सचिवालयले केही समूहले परिस्थितिजन्य लाभ उठाउने उद्देश्यले गलत सूचना र भ्रामक भाष्य फैलाएर बजारमा त्रास सिर्जना गर्न खोजिरहेको आरोप पनि लगाएको छ।

क्लबहाउस, ह्वाट्सएप, म्यासेन्जर समूह वा अन्य अनौपचारिक माध्यमबाट फैलाइने सूचनामा विश्वास नगर्न र बजारसम्बन्धी जानकारीका लागि सम्बन्धित सरकारी निकायका आधिकारिक स्रोतलाई मात्र आधार बनाउन आग्रह गरिएको छ।

अर्थमन्त्री वाग्लेले धितोपत्रको दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको अवस्था, बजारको प्रवृत्ति र सम्भावित जोखिमको पर्याप्त अध्ययन गर्न तथा अफवाहका आधारमा लगानीसम्बन्धी निर्णय नगर्न पनि सुझाव दिएका छन्।

प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्