लोकतन्त्र विरोधी प्रवृत्ति र भ्रष्टाचारलाई सदाका लागि बिदा गरौं : भीष्मराज आङ्देम्बे



काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली राजनीतिबाट अधिनायकवादी सोच, लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय र भ्रष्टाचारलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताएका छन्।

साउने संक्रान्ति तथा लिम्बू समुदायले मनाउने सिसेःक्पा तङ्नाम पर्वका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले साउने संक्रान्तिमा लुतो फालेर रोग र अशुभलाई बिदा गर्ने परम्परालाई स्मरण गर्दै राजनीतिक र सामाजिक विकृतिलाई पनि त्यही भावनाका साथ अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

‘साउने संक्रान्तिमा लुतो फालेर रोग र अशुभलाई बिदा गरेझैँ अब हामीले लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय, भ्रष्टाचार र अधिनायकवादी सोचलाई पनि सदाका लागि बिदा गर्नुपर्छ,’ उनले सन्देशमा उल्लेख गरेका छन्।

आङ्देम्बेले पछिल्लो समय देशमा निरंकुश शासकीय प्रवृत्ति बढ्दै गएको, नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको तथा निमुखा र विपन्न नागरिकको आवाज दबाउने प्रवृत्ति मौलाउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनले लोकतन्त्रको मूल केन्द्र जनता नै भएको उल्लेख गर्दै जनतालाई शासनको विषय होइन, राज्यशक्तिको वास्तविक स्रोत र केन्द्रका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्।

उनका अनुसार संविधानको मर्म, विधिको शासन, सामाजिक न्याय र नागरिक स्वतन्त्रताको प्रभावकारी कार्यान्वयनबाट मात्रै लोकतन्त्र बलियो बन्न सक्छ।

शुभकामना सन्देशको अन्त्यमा आङ्देम्बेले साउने संक्रान्ति र सिसेःक्पा तङ्नाम पर्वले संविधानप्रतिको प्रतिबद्धता, लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक न्याय र समृद्ध नेपालको साझा संकल्पलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्