Deshko News
१६ आश्विन २०८०, मंगलबार

अन्तर्राष्ट्रिय विमानस्थल बन्दा तनियावासी किन चिन्तित ?



वीरगन्ज,  जेठ ६

राष्ट्र गौरवको आयोजनाका रुपमा बारा जिल्लामा निर्माण हुने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका कारण तनिया बस्ती उठीबास हुने डरले त्यहाँका बासिन्दा चिन्तित भएका छन् ।

तामाङ, मगर, बाहुन, दमार्इं, कानी, माघी, कोइरी तथा जनजाति गरी एक हजार चार सय ७६ घरधुरी भएको तनिया बस्तीको बीचमै धावन मार्ग निर्माण हुने भएकाले सो बस्तीलाई अन्यत्र सार्नुपर्ने हँुदा आफूहरु कहाँ गएर बस्ने भन्ने चिन्ता त्यहाँका बासिन्दाको छ ।

विसं २०३१ र २०३२ तिर तत्कालीन राजा वीरेन्द्रले बसाएको तनिया बस्तीमा सिँचाइ सुविधा प्रशस्त भएपछि त्यहाँका किसान मुख्य रुपमा मकै, धान, गोलभेंडा र सुर्ती खेती गरी आर्थिक रुपमा सम्पन्न हुँदै आएको स्थानीयवासीको भनाइ छ ।

“विकासका लागि हामी तनिया बस्ती खाली गराउन तयार रहेका छौँ । तर सरकारले सोको सट्टामा अर्को ठाउँमा बस्ती बसाउन जग्गा उपलब्ध गराउनुपर्छ”, ” तनिया बस्ती सरोकार सङ्घर्ष समितिका संयोजक मुक्ति लामाको भनाइ छ ।

पथलैया–निजगढ सडकखण्डबाट दक्षिणतर्फ पर्ने सो बस्तीमा हाल शिक्षा स्वास्थ्य र सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै सो बस्ती उठाउनुपर्ने भएकाले सरकारले अर्को ठाउँमा पुनर्बास गराउनुपर्ने सङ्घर्ष समितिका उपाध्यक्ष रेवतीप्रसाद मैनालीले बताउनुभयो ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा साबिक घइटा गाविसको काँट गाउँका एक सय घरधुरी प्रभावित हुने भएको छ । तनिया बस्ती काँट गाउँका बासिन्दा सरकारले यथाशीघ्र आफ्ना माग पूरा गर्नुपर्ने बताउँछन् । सो बस्तीलाई कहाँ सार्ने भन्नेबारे सरकारी टोलीले बेला बेलामा स्थलगत अध्ययन गर्दै आएको छ । रासस

प्रकाशित मिति: ६ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News