विश्वकप लिग टु : नेपाल र नामिबिया भिड्दै



काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ।

यस सिरिजमा आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुन लागेको हो। आठ टोली सहभागी सिरिजमा हाल पाँचौँ स्थानमा रहनेको नेपाललाई शीर्षचारमा रहँदै विश्वकप ग्लोबल छनोट हुन अबका खेलहरु जित्दै जानुपर्ने छ।

एक समय सिरिजमा निराश देखिएको नेपालले गत जेठमा घरेलु मैदान कीर्तिपुरमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डविरुद्ध खेलिएको सिरिजका आठ खेलमध्ये ६ खेलमा जित निकाल्दै आफुलाई पाँचौँ स्थानमा उभ्याएको थियो।

नेपाल घरेलु मैदानमा दुई सिरिज खेल्नुअघि सातौँ स्थानमा थियो। अब नेपालले नेदरल्यान्ड्समा घरेलु मैदानकै लय पछ्याएमा शीर्षचारमा रहने सम्भावना कायम राख्नेछ। नेदरल्यान्ड्समा नेपाली टोलीको लक्ष्य सोही हुनेछ।

नेपालले सिरिजको दोस्रो खेल साउन ७ गते बिहीबार आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ। त्यसपछि नेपालले साउन ११ गते नामिबिया र १३ गते पुनस् नेदरल्यान्ड्सँग खेल्नेछ।

पाँचौँ स्थानमा रहेको नेपालले २८ खेलबाट २४ अङ्क बनाएको छ । समान खेलबाट ३२ अङ्क बनाएको नेदरल्यान्ड्स तेस्रो र २२ अङ्क बनाएको नामिबिया सातौँ स्थानमा छ।

शीर्षस्थानमा रहेको अमेरिकाको ३२ खेलबाट ४३ अङ्क छ । यस्तै दोस्रो स्थानमा रहेको स्कटल्यान्डको ३२ खेलबाट ३८ अङ्क छ । चौथो स्थानमा रहेको ओमानको ३२ खेलबाट ३१, नेपालपछिअ छैटौँ स्थानमा रहेको क्यानडाको ३२ खेलबाट २४ र २४ खेलबाट १४ अङ्क बनाएको युएई तालिकाको आठौँ एवं अन्तिममा छ।

सिरिजमा सहभागी आठ टोलीले कूल ३६र३६ खेल खेल्नेछन्। विश्वकप लिग–२ स् २०२३–२४र२०२७ ‘साइकल’ मा नेपालले अझै आठ खेल खेल्न बाँकी छ।

नेपाललाई शीर्षचारमा परेर चालु विश्वकप लिग–२ बाट विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः चयन हुन बाँकी सबै खेल जित्नुपर्ने बाध्यता छ। यस प्रतियोगिताबाट एकदिवसीय मान्यता प्राप्त गर्न भने शीर्ष ६ स्थानमा अटाए पुग्ने प्रावधान पनि रहेको छ।

सिरिजका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले नेदरल्यान्ड्स जानुअघि नै खेलाडी टोलीको घोषणा गरिसकेको थियो। रोहितकुमार पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी छन्।

यस्तै टोलीमा लेग स्पिनर सन्दीप लामिछानेसहित कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख र सोमपाल कामी जस्ता अनुभवी खेलाडी यथावत् छन्।

यसैगरी टोलीमा इशान पाण्डे, गुल्सन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारीले स्थान बनाएका छन्।

टोलीमा मुख्य खेलाडीको अतिरिक्त पाँच जना खेलाडीलाई वैकल्पिक सूचीमा राखिएको छ। वैकल्पिक खेलाडीमा सुन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रहेका छन्।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्