विश्वकप छनोटको दौडमा नेपालको महत्वपूर्ण परीक्षा, लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा त्रिकोणात्मक सिरिज खेल्दै
काठमाडौँ, ४ साउन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नेदरल्यान्ड्समा घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ। विश्वकप छनोटको सम्भावना बलियो बनाउन नेपालका लागि यो सिरिज अत्यन्त महत्वपूर्ण मानिएको छ।
नेपालले आफ्नो पहिलो खेल मंगलबार नामिबियासँग खेल्नेछ। त्यसपछि बिहीबार घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपालले तेस्रो खेल आगामी सोमबार पुनः नामिबियासँग र अन्तिम खेल त्यसको दुई दिनपछि नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ।
लिग–२ अन्तर्गत हालसम्म २८ खेल खेलिसकेको नेपाल २४ अंकसहित पाँचौं स्थानमा छ। शीर्ष स्थानमा रहेको अमेरिका ४३ अंकसहित अगाडि छ भने स्कटल्यान्ड ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ। नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो र ओमान ३१ अंकसहित चौथो स्थानमा छन्। नेपाल र क्यानडाको समान २४ अंक भए पनि नेपाल पाँचौं स्थानमा छ। नामिबिया २२ अंकसहित सातौं तथा यूएई १४ अंकसहित पुछारमा रहेको छ।
विश्वकप छनोटको अन्तिम चरणमा पुग्न शीर्ष चारभित्र रहन आवश्यक भएकाले नेपालका लागि नेदरल्यान्ड्स सिरिज निर्णायक बन्न सक्ने देखिएको छ।
नेपालले हालै कीर्तिपुरमा सम्पन्न लिग–२ सिरिजमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डविरुद्ध आठ खेलमध्ये छ खेल जित्दै १२ महत्वपूर्ण अंक जोडेको थियो। त्यसले नेपालको शीर्ष चारमा पुग्ने सम्भावनालाई पुनः बलियो बनाएको छ।
यस सिरिजपछि नेपालले लिग–२ चक्रको अन्तिम सिरिज ओमानमा घरेलु टोली ओमान र क्यानडाविरुद्ध खेल्नेछ।
अघिल्लो लिग–२ चक्रमा अन्तिम चरणमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटसम्मको यात्रा तय गरेको नेपाल यसपटक पनि त्यही लय दोहोर्याउने लक्ष्यमा छ। नेदरल्यान्ड्समा सुरु हुने यो सिरिज नेपालका लागि केवल अंक जोड्ने अवसर मात्र नभई विश्वकप छनोटको यात्रालाई जीवित राख्ने महत्वपूर्ण परीक्षा पनि हो।
प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार







