सुनको सिक्री लुट्ने गिरोहका ५ जना पक्राउ



रुपन्देही । रुपन्देहीमा सुनको सिक्री लुटपाटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर–११ का ३१ वर्षीय अकलेश बृजवासी, पर्साको वीरगञ्ज–२० का २८ वर्षीय राजन राय, वीरगञ्ज–१६ का २१ वर्षीय अमन राय, सोही स्थानका एक नाबालिग (साङ्केतिक नाम ‘भैरहवा–१०’) तथा भारतको बिहार राज्य, मोतिपुर निवासी ४० वर्षीय मोहम्मद इमाम रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार साउन ९ गते शुद्धोधन गाउँपालिका–४ स्थित हाटबजारमा एक व्यक्तिको घाँटीबाट करिब दुई तोला बराबरको सुनको सिक्री थुतेर फरार भएको घटनापछि प्रहरी निरीक्षक अनिश बुढाथोकीको नेतृत्वमा विशेष टोली परिचालन गरिएको थियो।

अनुसन्धानका क्रममा घटनामा संलग्न गिरोहलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट सुनजस्तो देखिने एक थान सिक्री, चार थान मोबाइल फोन तथा घटनामा प्रयोग गरिएको बा १९ च ४३७७ नम्बरको स्कारपियो गाडी बरामद गरेको छ।

पक्राउ परेकामाथि चोरी मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार