सबै अस्पताललाई स्वास्थ्य मन्त्रालयले भन्यो – सेवा बन्द नगर्नू, दोषीलाई कारबाही हुँदैछ



काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका सबै अस्पताललाई कुनै पनि अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध नगर्न निर्देशन दिएको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले उपचार सेवा नियमित सञ्चालन गर्न आग्रह गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा मंगलबार जारी विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भइरहेका आक्रमणका घटनालाई गम्भीर रूपमा लिइएको उल्लेख गरिएको छ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइसकेको मन्त्रालयले जनाएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यमन्त्री निशा मेहताले घाइते चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाउनुका साथै राष्ट्रिय ट्रमा सेन्टर पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।

साथै, दोषीमाथि कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन निरन्तर पहल भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै पनि प्रकारको अवरोध आउन नहुने उल्लेख गरेको छ।

सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउनु स्वास्थ्यकर्मीको मौलिक अधिकार भएको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न सबै अस्पताललाई अपिल गरिएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार