Deshko News
१३ आश्विन २०८०, शनिबार

नदीले बगाउने डरले बेलिब्रिज खोलियो, यातायात ६ महिनाका लागि ठप्प



उदयपुर, जेठ ९

उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म प्रत्यक्ष सञ्चालन हुँदै आएको यातायात सेवा सुनकोसी नदीको बेलिब्रिज खोलेपछि सोमबारदेखि छ महिनाका लागि पूर्णरुपमा बन्द हुन पुगेको छ ।

उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङको लिच्कीराम्चे बीचमा पर्ने सुनकोसी नदीमा जडान गरिएको बेलिब्रिज सुनकोसी नदीमा पानीको बहाव बढेसँगै सोमबारदेखि खोल्ने काम भएको कुरा गाईघाट–दिक्तेल सडक कार्यालय, उदयपुर बोक्सेका इन्जिनियर कमलप्रसाद यादवले बताउनुभयो ।

वर्षा लागेसँगै सुनकोसी नदीको बहाव बढेको कारण बेलिब्रिज बगाउने सम्भावना भएका कारण छ महिनाका लागि बेलिब्रिज खोलिएको इन्जिनियर यादवले बताउनुभयो । पचास मिटर लम्बाइ रहेको उक्त बेलिब्रिज गत मङ्सिर महिनामा जडान गरिएको थियो । अब छ महिनापछि हिउँदको मङ्सिर महिनामा मात्र पुनः बेलिब्रिज जडान गरिने पनि गाईघाट–दिक्तेल सडक कार्यालयले बताएको छ ।

सुनकोसीमा बेलिब्रिज खोलिएसँगै अब उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङसम्म प्रत्यक्ष यातायात सेवा बन्द हुन पुगेपछि पहाड मधेस आवतजावत गर्ने सयौँ यात्रु भने १५८ किलोमिटरको यात्रा पैदल हिँड्न बाध्य हुनुपरेको यात्रु बताउँछन् ।

यस्तै, यस क्षेत्रमा सञ्चालन हुँदै आएका यातायातका साधनसमेत बन्द गर्न पर्दा यातायात व्यवसायी र मजदुरको रोजीरोटीमा समस्या आएको एक यातायात व्यवसायी कुमार मगरले बताउनुभयो ।

स्मरण रहोस्, २०५१ सालमा निर्माण कार्य सुरु भएको गाईघाट–दिक्तेल सडकखण्डको सुनकोसी नदीमा अहिलेसम्म पनि स्थायी पुल निर्माण भइनसक्दा यस क्षेत्रका यातायात व्यवसायी र यात्रुले प्रत्येक वर्ष वर्षायाममा कष्ट भोग्दै आउनु परेको छ । रासस

प्रकाशित मिति: ९ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News