भोजपुरमा किन दलहरुले उम्मेदवार छान्न सकेनन् ?
भोजपुर, जेठ १३
भोजपुरका राजनैतिक दलहरुले हाल सम्म उम्मेदवार चयन गर्न सकेका छैनन् । उम्मेदवारका आकाङ्क्षीको संख्या धेरै, दलभित्र पनि गुट उपगुट, आपसी विवाद लगाएतका कारणले उम्मेदवार चयन प्रक्रिया ढिला भएको नेताहरुले वताउने गरेका छन् ।
जेष्ठ ३१ गते हुन लागेको निर्वाचन आउँन अव १८ दिन बाँकी छ तर जिल्लाको चुनावी माहोल हेर्दा खासै धेरै चहल पहल भएको देखिदैन । केहि दलहरु भने उम्मेदवार टुङ्गो नलागेको भए पनि प्रचार प्रचारमा लागि रहेका छन् ।
यो समयमा निर्वाचनको प्रचार प्रसारमा लाग्नु पर्नेमा जिल्लाका क्रियाशिल धेरै दलहरुले उमेदवारको टुङ्गो लगाउन नै अलमल गरिरहेका छन् ।
जिल्लामा क्रियाशिल पार्टीहरु नेपाली काङ्ग्रेस, नेकपा एमाले, राप्रपा, संघिय समाजबादी फोरम लगाएतका दलहरुले हाल सम्म पनि जिल्लाका सवै स्थानीय तहमा उमेदवार चयन गर्न सकेका छैनन् ।
नेपाली काङ्ग्रेसले हाल सम्म षडानन्द नगरपालिका र ३ ओटा गाउपालिकाको उमेदवार टुङ्गो लगाएको छ भने ४ वटा गाउपालिका र भोजपुर नगरपालिकाको अझै टुङ्गो लागि नसकेको पार्टी सभापति नन्दमणी राईले वताए ।
उनका अनुसार उम्मेदवार चयनको लागि धमाधम काम भईरहेको छ । नेकपा एमालेले साल्पा सिलिछो गाउपालिका वाहेक अन्य ८ वटा स्थानीय तहको प्रमुखको टुङ्गो लगाएको जनाएको छ ।
अन्य उम्मेवारहरुको टुङ्गो चाँडै लाग्ने एमालेको भनाई छ । माओवादी केन्द्रले भने सवै स्थानिय तहको उम्मेवार टुङ्गो लगाएको जनाएको छ ।
जिल्लाका अन्य वाँकी दलहरुले पनि केहि स्थानिय तहको मात्र टुङ्गो लगाएको वताएका छन् । भोजपुर जिल्लामा स्थानिय तह निर्वाचनको लागि १३ ओटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार
















