अनशन बसेका कांग्रेस नेता कुँवर आईसीयूमा, छोरालाई बचाउन आमाको याचना


 


तपेन्द्र कुँवर
कैलाली, जेठ १५
कांग्रेस कैलालीले एकलौटी रुपमा टिकट वितरण गरेको भन्दै पाँच दिनदेखि आमरण अनशनमा बसेका नेपाल विद्यार्थी संघ कैलालीका पूर्व जिल्ला अध्यक्ष तथा युवा नेता कृष्णबहादुर कुँवरको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएपछि कुँवरलाई सेती अञ्चल अस्पतालमा आईसीयूमा भर्ना गरिएको छ । हिजो मध्यराति आईसीयूमा भर्ना गरिएका कुँवरको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

नेता कुँवरले भने कांग्रेस पार्टीले निर्णय नसच्याउँदासम्म आमरण अनशन कुनैपनि हालतमा नतोड्ने अडान लिएका छन् । सोमबार सेती अञ्चल अस्पतालको आईसीयू कक्षमा पत्रकारसंग कुरा गर्दै उनले आफ्नो आमरण अनशन पार्टीको गलत रवैयाका विरुद्ध भएको बताए ।

उनले आफ्नो लागि भन्दा पनि पार्टी बचाउनका लागि आफू्ले अनशन थालेको बताएका छन् । स्वास्थ्य अवस्था विग्रिदै गइरहेका बेला कुँवरले अनशन जारी राख्ने अडान लिइरहेपन अस्पतालले भने धेरै दिनसम्म आइसीयूमा राख्न नसक्ने जनाएको छ ।

छोरालाई बताउन आमाको याचना
स्वास्थ्य अवस्था नाजूक बन्दै गएपछि नेता कुँवरकी आमा निर्मलादेवी कुँँवरले छोराको ज्यान बचाईदिन याचना गरेकी छन् ।

उनले छोराको मूल्यांकन नभएपनि ज्यान बचाइदिन कांग्रेस नेतृत्वलाई आग्रह गरेकी हुन् । ‘पार्टीले जेसुकै गरोस्, छोराको ज्यान बचे हामीलाई पूग्यो’ उनले भनिन्, ‘यस्तो अवस्था आइसक्दा पनि कुनै सुनुवाई नै नहुनु लाजमर्दो कुरा हो, यसले पार्टी बलियो हुनुको सट्टा झन कमजोर हुन्छ ।’

कुँवरको स्वास्थ्यमा समस्या देखिन थालेको छ । स्वासप्रस्वासमा समस्या, शरीर दुख्ने लगायतका समस्या देखिन थालेका छन् ।

आमरण अनशनप्रति ऐक्यबद्धता
पार्टीको क्रियाकलाको विरोधमा कुँवरले थालेको आमरण अनशनमा धनगढी उपमहानगरपालिका वडा नं. १ का पूर्व अध्यक्ष कृष्णबहादुर मल्लले ऐक्यबद्धता जनाएका छन् ।

पार्टीका सक्रिय कार्यकर्ता भन्दा पनि पैसा र पावरका आधारमा टिकट वितरण गरिएको भन्दै उनले पनि अनशनमा आफ्नो पनि ऐक्यबद्धता रहेको जनाएका हुन् । उनले पार्टी टिकट वितरणमा गरेका निर्णय नसच्चिए सबै वडाबाट विद्राही उम्मेदार उठ्ने समेत चेतावनी दिएका छन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्