ग्रामीण सडकमा हेरालु राखेपछि…


 


तेह्रथुम,  जेठ १६

जिल्लाका कच्ची तथा निर्माणाधीन ग्रामीण क्षेत्रका सडकमा हेरालु राखेपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सजिलो भएको छ । सडकमा हेरालुको व्यवस्था गरिएपछि सामान्य मात्रै क्षति हुँदा सडक अवरुद्ध नहुने भएको छ ।

हेरालुले सडकमा खसेका सानातिना ढुङ्गा र पहिरो हटाउने, झाडी पन्छाउने, बगेको पानी कटाउने, नाली बिग्रिएका ठाउँमा बनाउने, ठूलो क्षति भएका तथा सम्भावित भए सोको जानकारी गराउनेलगायत काम गरिरहेका छन् । यसले गर्दा सडकमा यातायात साधन आवतजावत गर्न सहज भएको व्यवसायीले बताएका छन् ।

गत वर्षदेखि नै जिल्लाभरका सातवटा कृषि सडकमा राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटिपी) अन्तर्गत जिल्ला प्राविधिक कार्यालयले ५४ जना सडक हेरालु राखेको छ । हेरालु राखेपछि सडकको गुणस्तर खस्कन नपाउँदै मर्मत हुने गरेकाले आवतजावतमा सजिलो भएको आठराई गाउँपालिका–२, खाम्लालुङकी सृजना लामाले बताउनुभयो ।

“सडक कच्ची र साँघुरा छन्, तर नियमित मर्मत र रेखदेखका लागि हेरालु राखिएपछि यातायात सञ्चालनमा सजिलो भएको छ ।” उहाँले भन्नुभयो । हेरालु राखेपछि वर्षाका दिनमा पनि यातायात सञ्चालन हुन थालेको छ । सडकमा हेरालु राखिएपछि ग्रामीण सडकमा समेत यातायात सञ्चालन गर्न सहज भएको म्याङलुङका काउन्टर प्रमुख सन्तोष निङ्लेकुले बताउनुभयो ।

सडकको नियमित रेखदेख र मर्मत सम्भारमा सघाउ पुग्ने गरी राखिएका हेरालुले सडकको स्तर गिर्न नदिने र सडक सफा राख्ने गरेका जिल्ला प्राविधिक कार्यालयका प्रमुख भरतकुमार यादवले बताउनुभयो ।

उहाँका अनुसार सडक हेरालुले सार्वजनिक बिदाका दिनबाहेक दैनिक सडक वरपरको झाडी पन्छाउने, खाल्डा खुल्डी पुर्ने, पानी तर्काउनेलगायतका काम गरिरहेका छन् । एकजना हेरालुलाई करिब दुई किलोमिटर सडक रेखदेख गर्नुपर्ने जिम्मेवारी दिइएको उहाँले बताउनुभयो ।

हेरालुले पहिरो तथा अवरोध हटाउने, नाली सफा तथा मर्मत गर्ने, खाल्डाखुल्डी पुर्ने झारपात तथा झाडी हटाउने काम निरन्तर गरिरहेको उहाँले बताउनुभयो ।

सडक हेरालु राखेपछि वर्षायाममा पनि यातायातका साधन सञ्चालनमा सहजता भएको चालक बताउँछन् । सडक हेरालुले बायो इन्जिनियरिङको तालिम समेत लिएको हुनाले सडक संरक्षणका लागि बोटबिरुवा रोपण, पहिरो रोकथाम, वातावरण संरक्षणका काम पनि भइरहेको छ ।

कार्यालयले जिल्लाका म्याङलुङ–ओख्रे–शुक्रबारे–दाँगपा खण्डमा २० जना हेरालु राखेको छ । यस्तै शेर्मा–जलजले–इसिवु सडकखण्डमा १० जना, इसिवु–खाम्लालुङ–सक्रान्तिबजार सडकखण्डमा १३ जना, जिरिखिम्ती–आम्बुङ–मोराहाङ–श्रीजुङ खण्डमा तीनजना हेरालु रहेको जिल्ला इन्जिनियर यादवले बताउनुभयो । यस्तै म्याङलुङ–नागदह–पिप्ले सडकमा दुई जना, फाक्चामारा–पन्चकन्या पोखरी सडकखण्डमा तीन जना र किराँतेश्वर–महादेव–पौठाक सडकमा तीन जना सडक हेरालु रहेका प्राविधिक कार्यालयले जनाएको छ ।

यसरी राखिएका हेरालु छनोट गर्दा महिला, दलित, जनजाति र द्वन्द्वपीडितलाई प्राथमिकता दिएकाले उनीहरुको जीवनयापनमा पनि सहज भएको छ । सडक हेरालुको रुपमा काम गर्न थालेपछि आफ्नो जीविकोपार्जनमा समेत सहयोग पुगेको पञ्चकन्याकी चन्द्रमाया लावतीले बताउनुभयो ।

जिल्लामा राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटिपी) अन्तर्गत शुक्रबारे–फाक्चामारा–हाक्पारा सडक (१७ किमी) सडकको मर्मत तथा स्तरोन्नतिको ठेक्का लागेको छ । सो सडकको काम काठमाडौँको जागृति निर्माण सेवा, बानेश्वरले लिएको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्