जन्मिएको १७ वर्षपछि थर !


 


खोटाङ, असार २१

जिल्लाको उत्तरी गाविस दुवेकोल–६ का दुर्गाराजको १७ वर्षपछि ‘थर’ कायम भएको छ । बुबा विद्यापति भट्टराई र आमा फुलमाया नेपालीको अन्तरजातीय विवाहपछि जन्मिएका दुर्गाराजको १७ वर्षपछि थर कायम गरिएको हो ।

विसं २०५५ असार २९ गते जन्मिएका दुर्गाराजको थर वंशजका आधारमा ‘भट्टराई’ कायम गरेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । सहायक महिला विकास निरीक्षक भुवन राई र बालअधिकार अधिकृत रविन राईले सनाखत गरी दिएपछि दुर्गाराजलाई प्रशासनले आइतबार नागरिकता दिएको हो ।

प्रेम सम्बन्धलाई २०५४ असोज ३ गते भागी विवाहमा परिणत गरेका विद्यापतिको केही समयपछि ज्यान गएको र उनीहरुको विवाह दर्ता प्रमाणपत्र नभएका कारण दुर्गाराजको अहिलेसम्म थर कायम हुन सकेको थिएन ।

जिल्ला प्रशासनले भट्टराई थर कायम गरेर नागरिकता प्रदान गरेपछि दुर्गाराजलाई ‘भट्टराई’ मान्ने की ‘नेपाली’ मान्ने भन्ने लामो समयसम्मको अन्योल टुङ्गिएको छ । दुर्गाराजको थर कायम गर्न जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालयले लामो समयसम्म कसरत गरेको थियो ।

२०६४ सालमा विद्यापतिको ज्यान गएका कारण दुर्गाराजको थर कायम हुन नसकेको स्थानीय बासिन्दाको भनाई छ । कालिका निमावि दुवेकोलको कक्षा ८ मा अध्ययनरत दुर्गाराजले विद्यालयमा आफ्नो बिना थर ‘दुर्गाराज’ मात्रै लेख्दै आएका थिए । रासस

प्रकाशित मिति: २१ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्