गोरो हुने क्रिमको कालो कथा


 


डा. अरुणाfair-skin-540x250 उप्रेती

‘गोरो भएपछि केटाहरू झुम्मिन्छन्, राम्रो श्रीमान् पाइन्छ’, ‘गोरो हुने क्रिम लगाएपछि काममा पनि सफलता पाइन्छ,’ पत्रपत्रिका र टेलिभिजनमा यस्ता विज्ञापन देखिनु अब नौलो भएन। त्यही विज्ञापनलाई विश्वास गरेर गोरो हुने क्रिमलगाउनु पनि नौलो रहेन । तर, त्यसले अनुहार र छालामा कति नकारात्मक असर पाररिहेको छ भन्नेचाहिँ धेरैलाई पत्तै छैन।

यस्ता क्रिममा मिसाइएका रासायनिक पदार्थले छालाको रंग निर्धारण गर्ने तत्त्व मेलानिनलाई कम गराउँछ। मेलानिन जन्मेदेखि नै मानिसको छालामा हुन्छ, जसले हामी गहुँगोरो, पहेँलो वा सेतो कस्तो हुन्छौँ भन्ने निर्धारति गर्छ। गहुँगोरो व्यक्ति वा अपि|mकाका मानिसको शरीरमा मेलानिन बढी हुन्छ र पहेँलो वा गोरो मानिसको शरीरमा यो कम हुन्छ। यो प्राकृतिक कुरा हो।

रंग गोरो वा कालो हुने भन्ने कुरा हामी जन्मिँदा नै निर्धारण भएको हुन्छ। शरीरको रंगलाई बदल्दै अनेक किसिमका शल्यक्रिया गरी गोरो बनेका विख्यात अमेरिकी गायक माइकल ज्याक्सनको दुःखद कथा जगजाहेर छ। अनेक शल्यक्रिया गरेपछि उनको कालो रंग त परविर्तन भयो तर लगातारको दुखाइ उनको जीवनको अंग बन्यो। र, पछि दुखाइ कम गर्ने औषधी नै उनको मृत्युको कारण बन्यो।

मानिसहरु छाला हेरेर माइकल ज्याक्सनको गीतमा झुम्मिएका होइनन्। उनको स्वरको पछि लागेका हुन्। गोरोपनलाई सौन्दर्यको योग्यता मापन गरेर आफ्नो प्राकृतिक स्वरूपलाई किन अस्वीकार गर्ने? स्वस्थ व्यक्ति पक्कै राम्रो देखिन्छ। जतिसुकै क्रिम लगाए पनि बिरामी व्यक्तिको अनुहारमा कान्ति र चमक आउँदैन। बरू स्वस्थ युवकयुवतीले यस्ता क्रिम लगाउँदा अनुहारमा अनेक किसिमका दाग या धब्बा देखा पर्छन्।

छाला रोग विशेषज्ञ डा विमल ओझाकहाँ धेरै मानिसहरू अनुहारको छाला बिगि्रयो, दाग आयो भनेर पुग्छन्। तिनका कुरा सुनेपछि उनलाई थाहा हुन्छ, तीन-चार महिनादेखि लगाइरहेको गोरो पार्ने क्रिम नै त्यसको कारण हुन्छ। गोरोपनको क्रिम नै छाला बिगि्रनुको कारण हो भन्दा उनीहरू विश्वास गर्दैनन् रे! उनी आफूकहाँ आउनेलाई गोरोपनको क्रिम छाड्ने सल्लाह दिन्छिन् र त्यसको सट्टा स्वस्थ जीवन र पौष्टिक खानामा ध्यान दिन भन्छिन्।

गोरोपन ल्याउने क्रिम, गाजल, लिपिस्टिक आदि प्रयोग गर्दा त्यसको गुणस्तर कस्तो छ, के असर पार्छ भनेर हामी खासै विचार गर्दैनौँ। किनभने, एकैछिनमा गोरो पार्ने क्रिम वा ओठ रातो पार्ने लिपिस्टिक आदि पक्कै पनि राम्रो हुन्छ भन्ने लाग्छ। खासमा स्वास्थ्यकर खाना, पानी र योगले गर्दा अनुहार र शरीर स्वस्थ रहन्छ र चमक आउँछ। अस्वस्थ शरीरमा कसरी सुन्दरता आउँछ? गोरोपन नै योग्यताको मापदण्ड हुँदो हो त अमेरिका र युरोपका सबै महिला, पुरुष योग्य र सुन्दर मानिन्थे होलान्। उनीहरूमध्ये धेरै जना छालाको रंग गहुँगोरो होस् भनेर क्रिम लगाउँछन् र सूर्य स्नान गर्छन्।

विश्व स्वास्थ्य संगठनका विभिन्न रिपोर्टमा हानिकारक र मिसावट भएका शृंगार सामग्रीको प्रयोगले छाला नराम्रो हुने मात्रै होइन, शरीरका भित्री अंग मुटु, मिर्गौलामा पनि नकारात्मक असर पर्ने उल्लेख छ। गोरोपनका लागि भनेर बनाउने क्रिममा मर्करी -एक रासायनिक तत्त्व) राखिएको हुन्छ। यो त्यही मर्करी हो, जुन थर्मामिटरमा पनि प्रयोग गरिन्छ। तर, मर्करीलाई छालामा प्रयोग गरेपछि यसले रोगसँग लड्ने शक्ति कम हुन्छ। वातावरण वैज्ञानिक रामचरत्रि साहले एक अनुसन्धानमा लेखेका छन्, ‘हामीले गोरो बनाउने क्रिमका नमुना संकलन गरेर जाँचका लागि भारत पठाउँदा अत्यधिक मर्करी प्रयोग गरिएको थाहा पायौँ।’

उत्पादक कम्पनीले भने मर्करीजस्ता पदार्थले शरीरमा नकारात्मक असर पर्छ भन्ने कुरा नै लुकाउँछन्। यस्ता क्रिममा हाइड्रोक्विनोन पनि मिसाइएको हुन्छ। यस्ता वस्तु मिसाइएको क्रिमले पनि मस्तिष्क र मिर्गौलामा नकारात्मक असर पार्छ। हाइड्रोक्विनोन रबरलाई नरम बनाउन प्रयोग गरिन्छ। सेतो बनाउने क्रिममा कोटिजोन नामक औषधी पनि मिसाइएको हुन्छ। त्यसैले छाला रोग विशेषज्ञहरू विभिन्न रासायनिक तत्त्व प्रयोग भएका क्रिम प्रयोग नगर्न सल्लाह दिन्छन्।

उत्पादक कम्पनीहरूले साबुन वा क्रिममा केसर मिसाएको र प्राकृतिक तत्त्वले भरिपूर्ण भएको विज्ञापन देखाउँछन्। तर, एक किलो केसरको करबि चार लाख रुपियाँ पर्छ। के क्रिममा तिनले साँच्चिकै केसर मिलाउन सक्छन्? साबुनले अनुहार गोरो बनाउँदैन तर भविष्यमा तपाइर्ंका लागि कालो स्वास्थ्यचाहिँ दिन्छ। त्यस्ता कम्पनीले आफ्ना उत्पादन बढी बिक्री होस् भनेर शरीरसमेत सेतो पार्न प्रेरति गर्ने विज्ञापन बनाउन थालेका छन्। जस्तो : कुनै किशोरी वा युवतीलाई खेलमा राम्रो भएर पुग्दैन, उनका हात, खुट्टा पनि सेतो हुनुपर्छ भन्ने खालका गलत विज्ञापनले महिला अस्मितामै धक्का पुर्‍याएका छन्।

टीभी विज्ञापनमा भारतीय कलाकारहरूलाई देखेर त्यस्ता क्रिम र साबुन प्रयोग गर्दै हुनुहुन्छ भने बुझ्नूस्, ती कलाकारहरूले पनि केवल पैसाका लागि विज्ञापनमा काम गरेका हुन्। उनीहरू आफैँ ती प्रसाधन प्रयोग गर्दैनन्। एकछिनका लागि गोरो बनेर अस्वस्थ जीवन बाँच्न चाहनुहुन्न भने यस्ता नानाथरी रसायन मिसाइएका क्रिम प्रयोग नगरेकै जाती ।

विक्लीनेपालबाट

प्रकाशित मिति: २२ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्