भीम रावलले भने, ‘संविधान संशोधनमा सहयोग गर्छौं’


 



काठमाडौं, असार २२

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधनबारे नयाँ प्रस्ताव आएर एमाले त्यसमा सहयोग गर्ने बताएका छन् । उनले संसदमा विचाराधिन संविधान संशोधन प्रस्ताव फिर्ता लिएर नयाँ प्रस्ताव ल्याउनुपर्ने बताए ।

विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रावलले राजपासँग सहमति कायम गरेर नयाँ प्रस्ताव ल्याए त्यसलाई पास गराउन एमाले पछि नहट्ने बताए ।

उनले विचाराधिक संविधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितमा नभएकोले त्यसलाई अविलम्ब फिर्ता लिनुपर्ने अडान राखे । ‘हामी संशोधनको विरोधमा छैनौं, संशोधन गर्न सकिन्छ, उनले भने, ‘तर देश र जनताको हितमा हुनुपर्छ।’

उनले संसदमा दर्ता गरिएको संशोधन प्रस्तावबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत जवाफ नदिएको उनले बताए । के को लागि संविधान संशोधन प्रस्ताव ल्याइएको भन्ने बोरमा पनि अहिलेसम्म स्पष्ट नभएको उनको भनाई छ ।

सोही अवसरमा बोल्दै नेता रावलले पहिलो र दोस्रो चरण एमाले पहिलो भएको र तेस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो हुने दाबी गरेका छन् ।

‘मैले पहिले पनि यही मञ्चबाट भनेको थिएँ, एमाले पहिलो पार्टी बन्छ भनेर, अब म फेरि पनि दाबाका साथ भन्छु, रावलले भने ‘२ नम्बर प्रदेशमा पनि सशक्त जनमत छ, हामी पहिलो पार्टी बन्छौं ।’

उनले एमाले पहिलो पार्टी बन्छ भनेर डराउनेहरुले नै चरण चरणमा स्थानीय तहको निर्वाचन गरेको समेत आरोप लगाए ।

प्रकाशित मिति: २२ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्