बैतडीमा यात्रुबाहक बस दुर्घटना, पाँच घाइते


 



बैतडी, असार २३
महाकाली लोकमार्ग अन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा शुक्रबार विहानै यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् ।

काठमाडौंबाट दार्चुलाको गणन्नाका लागि छुटेको उग्रतारा यातायातको बा ३ ख ५१७५ नम्बरको बस सुर्नया ३ धरमघर नजिक शुक्रबार बिहान सवा ३ बजे दुर्घटनामा परेको हो ।

बस सडकबाट करीब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

दुर्घटनामा बैतडीको सुर्नया ३ का २४ बर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ बर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा २ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार ७ का हरिसिंह कार्की र सोही ठाउँ बस्ने १७ बर्षीय दीपक लुहार घाइते भएका छन् ।

घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारको लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको छ । गाडीमा २ जना यात्रु, एक चालक र दुई गाडी स्टाफ गरी ५ जना मात्रै सवार थिए ।

बस के कारणले दुर्घटनामा परेको हो भन्ने बारेमा अझै खुल्न नसकेको प्रहरीले जनाएको प्रहरी उपरीक्षक शर्माले जानकारी दिए ।

प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्