तराईका १२ जिल्लामा पनि एमाले अगाडि, अन्य दलको यस्तो छ अवस्था (सूचीसहित)


 



काठमाडौं, असार २४
दोस्रो चरणमा निर्वाचन भएका तराईका १२ जिल्लाका दुईतिहाइभन्दा बढी तह एमाले–कांग्रेसले जितेका छन् ।

१ सय ३० मध्ये शुक्रबारसम्म तराईमा १ सय २४ तहको नतिजा सार्वजनिक हुँदा एमाले–कांग्रेसले मात्रै ९५ तहमा प्रमुख जितेका छन् । एमालेले ५६ तह जितेर पहिलो शक्ति बनेको छ भने कांग्रेसले ३९ तह जितेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

परिणाम आउन बाँकी रहेका ६ तहमध्ये मोरङको विराटनगर महानगरपालिका, धनपाल गाउँपालिका, झापाको मेचीनगर र कैलालीको धनगढी उपमहानगरपालिकामा कांग्रेस र झापाको अर्जुनधारा र कञ्चनपुरको पुनर्वासमा एमालेले अग्रता लिइरहेका छन् ।

माओवादी केन्द्रले १२ वटा तह जितेर तराईका जिल्लामा पनि तेस्रो स्थान सुरक्षित बनाएको छ । संघीय फोरम र नयाँ शक्तिको गठबन्धनले ८ तह जितेका छन् भने लोकतान्त्रिक फोरमले ६ तह जितेको छ ।

राप्रपाले ४ तह, स्वतन्त्र उम्मेदवारले ३ तह जितेका छन् । स्वतन्त्रबाट विजयी निर्वाचन बहिष्कार गरेको राजपाका कार्यकर्ता हुन् ।

कांग्रेस–माओवादीको भन्दा एमालेको बढी
तराईका १२ जिल्लाको नतिजाअनुसार कांग्रेस–माओवादीको भन्दा एमालेले बढी तह जितेको छ । कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको प्रमुख जितेको सिट जोड्दा ५१ हुन्छ । तर, एमाले एक्लैले ५६ स्थानमा प्रमुख पद जितेको छ ।

प्रदेश नं. १ मा एमाले–कांग्रेसबीच प्रतिस्पर्धा
प्रदेश नम्बर १ का तराईका चार जिल्लामा एमालेले १९, कांग्रेसले १८ तहमा प्रमुख पद जितेका छन् । माओवादी केन्द्रको भने २ तहमा मात्र प्रमुख पदमा जित दर्ता गराएको छ । झापाका १५ तहमध्ये एमालेले ६, कांग्रेसले ४ र राप्रपाले ३ तह जितेका छन् । बाँकी दुईमध्ये कांग्रेस र एमालेले एक–एक तहमा अग्रता लिइरहेका छन् ।

मोरङका १७ तहमध्ये कांग्रेसले ७, एमालेले ५, माओवादी केन्द्रले १, नयाँ शक्ति र संघीय फोरम गठबन्धनले १ तथा लोकतान्त्रिक फोरमले १ तहको प्रमुख जितेका छन् । मतगणना जारी रहेको विराटनगर महानगरपालिका र धनपाल गाउँपालिकामा कांग्रेसको अग्रता छ ।

सुनसरीका १२ तहमध्ये कांग्रेसले ६, एमालेले २, नयाँ शक्ति–संघीय फोरमले १ र लोकतान्त्रिक फोरमले २ तहको प्रमुख पद जितेका छन् ।

मतगणना जारी रहेको धरान उपमहानगरमा एमालेले अग्रता लिइरहेको छ । उदयपुरका ७ स्थानीय तहमध्ये एमालेले ६ र कांग्रेसले १ स्थानीय तह जितेका छन् ।

प्रदेश नं. ५ मा एमाले बलियो
प्रदेश नं. ५ स्थित तराईका ६ जिल्लामा एमालेले कांग्रेसको भन्दा झन्डै दोब्बर तहमा जितेको छ । एमालेले २२ र कांग्रेसले १२ तहमा प्रमुख जितेका हुन् । माओवादी केन्द्रले ६ तहमा जितेको छ ।

दाङका १० स्थानीय तहमध्ये एमालेले ६, कांग्रेसले ३ र माओवादी केन्द्रले १ तहको प्रमुख पद जितेका छन् । त्यस्तै, रूपन्देहीका १६ तहमा एमालेले ७, कांग्रेसले २, माओवादी केन्द्रले १ तथा नयाँ शक्ति–संघीय फोरमले ४ र लोकतान्त्रिक फोरम र राजपाका स्वतन्त्र उम्मेदवारले १–१ तह जितेका छन् ।

त्यस्तै, नवलपरासीका ७ तहमध्ये कांग्रेसले ३, एमालेले २ तथा माओवादी केन्द्र र लोकतान्त्रिक फोरमले १–१ तह जितेका छन् । बाँकेका ८ स्थानीय तहमध्ये एमालेले ४, कांग्रेसले २, राप्रपा र समाजवादी फोरमले १–१ तह जितेका छन् । बर्दियाका ८ तहमध्ये एमालेले ३, माओवादी केन्द्रले ३ र कांग्रेसले २ तह जितेका छन् ।

प्रदेश नं. ७ मा कांग्रेस–माओवादी बराबर
प्रदेश नं. ७ स्थिति कैलाली र कञ्चनपुरमा एमाले एक्लैले ११ तहका प्रमुख जितेको छ भने कांग्रेस र माओवादी केन्द्रले बराबर २–२ तहका प्रमुख जितेका छन् ।

कैलालीका १३ मध्ये एमालेले ७, कांग्रेस र माओवादी केन्द्रले २–२, लोकतान्त्रिक फोरमले १ तहमा प्रमुख जितेका छन् । मतगणना जारी रहेको धनगढी उपमहानगरपालिकामा कांग्रेसको अग्रता छ ।

त्यस्तै, कञ्चनपुरको ९ तहमध्ये एमालेले ४, कांग्रेस र माओवादीले २–२ तहमा प्रमुख पद जितेका छन् । पुनर्वास नगरपालिकामा एमालेको अग्रता छ ।

कुन दलले कहाँ जिते ?
एमाले
झापा : कन्काई, दमक, बिर्तामोड, कमल, भद्रपुर, शिवसताक्षी,
मोरङ : कानेपोखरी, ग्रामाथान, पथरी–शनिश्चरे, बेलबारी र मिक्लाजुङ,

सुनसरी : इटहरी, बराह,

उदयपुर : उदयपुरगढी, कटारी, रौतामाई, ताप्ली, त्रियुगा, बेलका,

दाङ : गढवा, घोराही, तुल्सीपुर, दंगीशरण, बबई, लमही,

रुपन्देही : बुटवल, कञ्चन, तिलोत्तमा, शुद्धोदन, सिद्धार्थनगर, सियारी, सैनामैना,

नवलपरासी स् सुस्ता, बर्दघाट,

कपिलवस्तु : विजयनगर, शिवराज,

बाँके : कोहलपुर, खजुरा, जानकारी र बैजनाथ,

बर्दिया : ठाकुरबाबा, बढैयाताल, बाँसगढी,

कैलाली : गोदावरी, गौरीगंगा, घोडाघोडी, चुरे, टीकापुर, मोहन्याल, लम्की,

कञ्चनपुर : कृष्णपुर, बेलडाँडी, भीमदत्त, वेदकोट ।

कांग्रेस

झापा : गौरादह, झापा, बाह्रदशी, बुद्धशान्ति,

मोरङ : उर्लाबारी, कटहरी, केराबारी, रतुवामाई, लेटाङ, सुनवर्षी र सुन्दरहरैँचा,

सुनसरी : इनरुवा, कोसी, गढी, देवानगन्ज, रामधुनी, हरिनगर,

उदयपुर : चौदन्डीगढी, दाङ स् राजपुर, राप्ती र शान्तिनगर,

रूपन्देही : देवदह, मायादेवी,

नवलपरासी : प्रतापपुर, रामग्राम र सुनवल,

कपिलवस्तु : कपिलवस्तु, वाणगंगा, बुद्धभूमि, महाराजगन्ज, यशोधरा,

बाँके : डुडुवा, राप्ती सोनारी, बर्दिया स् गुलरिया, गेरुवा,

कैलाली : जोशीपुर, बर्दगोरिया,

कञ्चनपुर : महाकाली, शुक्लाफाँट

माओवादी केन्द्र

मोरङ : रंगेली,

उदयपुर : सुनकोसी,

दाङ : बंगलाचुली,

रुपन्देही : ओमसतिया,

नवलपरासी : पाल्हीनन्दन,

बर्दिया : बारबर्दिया, मधुवन र राजापुर,

कैलाली : कैलारी र भजनी,

कञ्चनपुर : बेलौरी, लालझाँडी

नयाँ शक्ति–संघीय फोरम–

मोरङ : जहदा गाउँपालिका,

सुनसरी : झोक्राह,

रूपन्देही : कोटहीमाई, गैडहवा, मर्चवारी, रोहिणी,

कपिलवस्तु : मायादेवी,

बाँके (१) : नरैनापुर

फोरम लोकतान्त्रिक–

मोरङ : बुढीगंगा,

सुनसरी : दुहवी, बर्जु,

रुपन्देही : सम्मरीमाई,

नवलपरासी : सरावल

कैलाली : जानकी

राप्रपाले प्रमुख जितेको तह
झापा(३) : कचनकवल, गौरीगन्ज र हल्दिबारी

बाँके (१) : नेपालगन्ज उपमहानगर

स्वतन्त्रले प्रमुख जितेको तह
रुपन्देही (१) : लुम्बिनी सांस्कृतिक नगर
कपिलवस्तु (२) : कृष्णनगर, शुद्धोदन

प्रकाशित मिति: २४ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्