विपक्षीलाई अर्थमन्त्रीको जवाफ- यहाँहरुले देशको कायापलट गर्न ल्याएका सबै कार्यक्रम यथावत् छन्
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले कर संकलन र खर्च व्यवस्थापनमा सन्तुलित नीति अवलम्बन गरेको स्पष्ट पारेका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले करलाई आवश्यकता र प्राथमिकताका आधारमा विवेकपूर्ण ढंगले उपयोग गर्ने बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले संसदले आवश्यक निर्देशन दिए विशेष प्रकृतिका बजेट व्यवस्थासमेत गर्न सकिने बताए । उनले विभिन्न स्रोतबाट संकलन गरिएका करहरू एउटै सञ्चित कोषमा जम्मा हुने र त्यसको उपयोग सरकारले राष्ट्रिय आवश्यकता अनुसार गर्ने नीति रहेको उल्लेख गरे ।
उनले करलाई निश्चित प्रयोजनका लागि मात्रै छुट्याएर प्रयोग गर्ने व्यवस्था ९इयरमार्किङ० गर्न सकिए पनि त्यसले प्रशासनिक तथा कानुनी जटिलता निम्त्याउन सक्ने बताए ।
उनले भने- ‘सयौँ र हजारौँ स्रोतबाट कर उठाउन सकिन्छ। उठाइएको करलाई निश्चित प्रयोजनका लागि मात्रै उपयोग गर्ने व्यवस्था गर्न पनि सकिन्छ । तर त्यससँगै प्रशासनिक र कानुनी जटिलताहरू आउँछन् ।’
यस्तै अर्थमन्त्री वाग्लेले सरकारले गरिब, सीमान्तकृत समुदायहरूको नाममा यसअघिका सरकारले ल्याएको लोककल्याणकारी कार्यक्रमहरू पनि यथावत् रहेका बताए ।
नयाँ सरकारले पुरानो सरकारका कार्यक्रमहरू कटौती गरेको भन्ने हल्लापछि वाग्लेले पनि
बैठकमा बोल्दै आफूले बजेट काटेको देखाइदिन चुनौती दिए ।
उनले थप भने- ‘यहाँहरूले देशको कायापलट गर्न ल्याउनुभएका सबै कार्यक्रमहरू यथावत् छन्। कहाँ काटियो रकम देखाइदिनुहोला ।’
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार












