तेस्रो पटक पनि सर्यो सर्बोच्चको सुनुवाई, के हुन्छ अब ?


 


काठमाडौं, असार २६
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने सम्बन्धी सोमबार हुने भनिएको सर्बोच्चको सुनुवाई तेस्रो पटक पनि सरेको छ ।

आज हेर्न नभ्याएको भन्दै अर्को पटकका लागि सुनुवाई सारिएको अदालतल जनाएकाे छ । अब सुनुवाईको अर्को मिति साउन २ गतेका लागि तोकिएको छ ।

भरतपुर प्रकरणको सुनुवाईको पेशी न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा तोकिएको थियो ।

यसअघि कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले भरतपुर १९ को मतगणनाका क्रममा च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथिको मुद्दाको सक्कल मिसिल र निर्वाचन आयोगको सक्कल निर्णय पेश गर्न आदेश दिएको थियो । सबै कागजातहरु दुई साताअघिनै पेश भइसकेका छन् ।

भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । तर, आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गरेका थिए ।

रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यन्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरकालिन आदेश दिएको थियो ।

भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह उम्मेदवार छन् । एमालेबाट मेयरमा देवी ज्ञवाली र उपमेयरमा दिव्या आचार्य प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: २६ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्