सेटिङमा पाक्छ स्वार्थको सेल


 


संकेत कोइराला
माक्र्स र एंगेल्सबीच एकताका सम्बन्ध चिसिएको थियो । त्यो आर्थिक कारणले थियो । ६ जनवरी १८६३ मा प्रेमिका मेरीको अचानक मृत्यु भयो । एंगेल्सले पत्रद्वारा माक्र्सलाई यो जानकारी गराए । माक्र्सको सोचेजस्तो पत्र आएन । फलस्वरुप एंगेल्स ६ दिन झोक्राए ।

प्रत्युत्तरमा माक्र्सले भनेका थिए– ‘जुन दिन मेरो घरमा अन्न थिएन । छोरी जेनी विरामी थिइ । उधारो खाएका साहुहरु सामान लिलामी गर्न घरमा आइरहेका थिए । त्यसैले एकान्त चित्तले मैले मृत्युभाव प्रकट गर्न सकिन ।’ त्यसैले भनिन्छ– मानिसका १८ परीक्षा हुन्छन ।

सवैमा सर्वोत्कृष्ट दरिएको व्यक्ति अर्थ परीक्षामा चिप्लिन सक्छ । नेता भनेका देशका सम्पत्ति हुन् । जनताको हित गर्ने सर्तमा राज्यले उनीहरुमाथि लगानी गरेको हुन्छ । यस मानेमा पनि उनीहरु चर्चायोग्य छन् । चाहे त्यो राम्रो होस् या नराम्रो । भनिन्छ नि– उज्यालोको मात्र हैन अन्धकारको पनि आफ्नै अर्थ हुन्छ ।

राजनीति कुनै लहड र सनक होइन । यो त नीतिहरुको राजा हो । अझ भनौं ३ करोड जनताको व्यवस्थापन गर्ने कडी भनेकै राजनीति हो ।

यस्तो गुरुत्तर दायित्व लिएका समकालिन नेताहरुको जीवनशैली ठ्याक्कै जग्गा दलाल र मेनपावर सञ्चालक जस्तो बन्दै गएको छ । जो खुसी रहन चाहान्छ, उसलाई कसैले पनि दुखी बनाउन सक्दैन । जो दुखी रहन चाहन्छ, उ सुखमा पनि दुख खोजिरहन्छ । गुण एकान्तमा विकास हुन्छ भने चरित्र निर्माण सुंसारको कोलाहलमा हुन्छ ।

समाजमा देश जल्यो भनेर कुर्लिनेहरुको जमात बढ्यो । आफू आगो निभाउनु त कता हो कता बाल्टिनमा पानी लिएर जानेको बाटो छेक्ने र पेट्रोल खन्याउनेहरुको धुइरो लाग्दै गयो ।

समाज यस्तै अनियन्त्रित र अनुशासनहीन बन्दै गएपछि धमिलो खोलामा माछा मार्नेहरुको अनपेक्षित प्रवेश हुने हो । पर्खालको इँटा कसैले चोर्दैन, चलाउँदैन ।

जब इँटा बाटोमा छरिन्छ, त्यसलाई जसले पनि टिप्छन् । कुनै मानिस सधैं असल र सधैं खराब भइरहने होइन । संसार कति स्वार्थी छ भने पैसा नराखिएको रित्तो गोजीसंग हात पनि त्यति संगत गर्न रुचाउँदैन ।

संगसंगै टाँसिएर बस्ने दाँत र जिब्रोको पनि हार्दिक सम्बन्ध हुँदैन । घरीघरी दाँतले जिब्रो टोकिदिन्छ । मानिस मानिसबीचका सम्बन्धमा पनि यस्ता मेल बेमेलका थुप्रै सन्दर्भ जोडिएका हुन्छन् ।

मन्चुरियामा जापानले हमला गर्नुअघि मजदुरको भेषमा धेरै वर्षअघिदेखि मन्चुरियामा बसेका जापानीहरु त्यति खतरनाक छन भन्ने कसैलाई थाहा थिएन ।

शिक्षा दिन र धर्म प्रचार गर्न भारत पसेका ब्रिटिसहरुले एकदिन दिल्ली दरबार कब्जा गर्छन भनेर भारतीय सोचेका थिएनन । उखु खेतीमा बनिबुतो गर्न फिजी पुगेका भारतीयहरुले महेन्द्र चौधरी जन्माउँछन भनेर शायदै कसैले सोचेको थियो ।

न शान्ति र मैत्रीको माला जपेर गान्तोकको इण्डिया हाउसमा बसेका भारतीय कुटनीतिज्ञहरुले स्वाधीन सिक्किमलाई भारतमै गाभ्छन भन्ने कुराको सुइँको सिक्किमे राजालाई थियो ।

चीनसंग विशेष सम्बन्ध बनाएका जुल्फिकर अलि भुट्टो फाँसीको फन्दामा पर्दा चीन चुँ बोलेन । रुस विरुद्ध लड्न आफैले हुर्काएको विन लादेन कालान्तरमा अमेरिकाका लागि टाउको दुखाई भयो ।

आफैले दिएको हतियार खोस्न तालिवानीसंंग लड्नु पर्यो । अमेरिकी डिजाइनमा हुर्किएका पनामाका सैनिक तानाशाह नोरियगाको उपयोगिता सकिएपछि राष्ट्रपति भवनबाटै गिरफतार भए ।

१८ वर्ष आफ्नो नियन्त्रणमा राखेको अमेरिकाले पक्षघातले असक्त भएपछि फ्रान्सलाई बुझायो । जब अभाव र संकट हुन्छ नि, त्यसबेला मानवीय गुण विलाउँछ ।

कुटनीति र राजनीतिक चलाखीका दृष्टिले अघिल्लो पुस्ता धेरै अगाडि थिए । नपढेका जंगबहादुर बेलायत गएर नेपालको सैनिक, प्रशासनिक ढाँचामा परिवर्तन मात्र ल्याएनन् । उनको सम्मानमा दिइएको भोजमा अंग्रेजी गीतमा कम्मर मर्काइ मर्काइ नाचे ।

अंग्रेजी नबुझने जंगबहादुर यसरी मच्चिई मच्चिई नाचेको देखेर अंग्रेजहरुले आश्चर्यका साथ सोधे– ‘तपाईं अंग्रेजी नबुझ्ने मान्छे अंग्रेजी गीतमा किन झुमेर नाच्नुभएको ?’ जंगबहादुरले तत्काल जवाफ दिए– ‘तपाईं चराले बोलेको बुझनुहुन्छ ? पक्कै बुझ्नुहुन्न । तर चरा बोलेको त तपाईंलाई मीठो लाग्छ नि हैन र ?’ कोहीसंग जवाफै थिएन ।

तुलसी गिरीका दुई श्रीमती थिए । सौता सौता चुल्ठो लुछालुछ गर्न थालेपछि गिरी झगडा छुट्याउन बीपीसंग सहयोग माग्थे रे । कति झगडा वीपीको मध्यस्थतामा साम्य बनाइएका सन्दर्भ इतिहासमा उल्लेख छ ।

तात्कालिन युवराज महेन्द्रले साली रत्न ल्याउने निश्चित भएपछि उनलाई युवराजबाट बर्खास्त गर्ने राजा त्रिभुवनको योजनालाई बीपीको पहलमा साँप पनि मर्ने लौरो पनि नभाँचिने शैलीमा समाधान गरिएको आत्मवृतान्तमै उल्लेख छ ।

आफैले थुनेका बीपीको फोटो प्रज्ञा प्रतिष्ठानमा नदेख्दा राजा महेन्द्रले तत्काल फोटो राख्न हुकूम दिएको सवैलाई थाहै छ । यहाँ उठाउन खोजिएको सन्दर्भ के हो भने मनमा तुष भएपनि सामान्य घरायसी समस्या पनि नेता मात्र हैन राजासमेत आपसमा बाँडचुड गर्थे । उनीहरु भित्रको सद्भावपूर्ण रसायन जीवनपर्यन्त जीवित देखिन्थ्यो ।

भुक्तभोगीहरु भन्छन्–राज्य सञ्चालनमा राजा महेन्द्र यति चलाख थिए कि कुनै पनि राजनीतिक निर्णय लिंदा आफ्नै पत्नीहरुलाई पनि सुइँको दिंदैनथे रे ।

त्यतिमात्र हैन, छोराहरुसंग व्यक्तिगत खुसामदी कहिल्यै गरेनन् रे उनले । उनले सधैं लगाउने कालो चस्माका बारेमा कसैले डेढो आँखा छोप्नका लागि भनेका छन् भने समर्थकहरु कालो चश्माबाट अरुको अनुहार पढ्न सजिलो हुने भएकाले कुटनीति प्रयोजनका लागि लगाइएको जिकिर गर्छन् ।

बीपी कोइराला प्रधानमन्त्री भएका बेलाको सन्दर्भ हो । मन्त्रिपरिषद्को बैठकमा यो पनि भएन, उ पनि भएन भनेर गणेशमानसिंह हरेक प्रस्तावमा भाँजो हाल्थे रे ।

हुँदाहुँदा अस्वीकृत प्रस्तावको चाङ लागेछ । यसबाट सरकारको बद्नाम हुने सत्य बुझेका बीपीले उपाय निकालेछन । एकदिनको बैठकमा उनले गणेशमानसिंहलाई फुक्र्याएर उहाँ र आफू मा केही फरक नभएको भन्दै वरिष्ठ मन्त्रीको हैसियतले आगामी बैठकबाट सरकारका सम्पूर्ण प्रस्ताव सिंहले ल्याउने उद्घोष गरिदिए ।

गणेशमानलाई आफूले सम्मान पाएको अनुभव भयो, वीपीको बाटो फराकिलो । जन्मिएको धर्तीप्रति आत्मगौरव गर्नेहरुले मात्र माटोको सुगन्ध आत्मसात गर्न सक्छन् ।

ज्ञान र सत्यबाट हिंडेको मानिसले झारपातबाट पनि मह उत्पादन गर्नसक्छ । अरुलाई दुख दिनेले कहिल्यै सुख पाउँदैन । देश बनाउने जिम्मेवारी पाएका हाम्रो देशका अधिकांश शिल्पीहरु पढेलेखेका छन् ।

कुन नेता छन, विदेश नगएका हुन् । कुन जंगी, निजामतीका अधिकारी छन, विदेशमा पढेका छैनन् । लिक्वानको देश बनाउने भिजन, देङ सियाओ पिङको आर्थिक क्रान्ति, मोहमद महाथिरको संकल्प सवै नेतालाई कण्ठ छ ।

एशियाको मोती भनिने श्रीलंकाबाट प्रभावित भएर आप्mनो देशलाई पनि त्यस्तै बनाउने संकल्प गरेका लिक्वानले सिंगापुरलाई स्वर्ग बनाए, तर प्रेरणा लिएको भूमि श्रीलंका भने खरानी भएर बल्ल थिग्रिने कोशिसमा छ । पाँच दशक अघिसम्म नेपालले अन्न पठाउने गरेका कोरिया, थाइल्याण्ड, भियतनामजस्ता मुलुक जहाँका जनताको प्रतिव्यक्ति आय २४ हजार डलरसम्म पुगिसक्यो ।

हामी ३ सयको लाजमर्दो दौडमा छौं । सात वर्षअघि भ्रष्टाचार हुने मुलुकहरुको ९० औं सूचिमा रहेको देश अहिले १४६ औं सूचिमा दरिएको छ ।

जनतालाई बाँच्न हैन, माग्न सिकाउने कुपात्रहरु राजनीतिको चुलो चौकोमा हावी हुँदै जाँदा कालो बादल झन्झन् मडारिँदो छ ।

राजा छँदा दोषको भुतभुते उनलाई खन्याएर आफू पानीमाथिको ओभानो हुन खोज्ने नेताहरु देशमा बढेको बेथिति स्वीकार्न तयार छन, तर जिम्मेवारी लिन किमार्थ तयार छैनन् ।

राजनीतिमा नैतिकताको ‘न’ पनि बाँकी छैन् । रंगशालामा चलेको हावाहुरीका कारण भएको भागदौडमा मान्छे मारिंदा नैतिकताको आधारमा पदबाट राजीनामा दिने केशरबहादुर विष्टको त्यो साखमा अढाई दशकयता कुनै राजनीतिका माइकलालले नैतिकताको एउटा उल्लेख्य इँटा थप्न सकेका छैनन् ।

नैतिकता भनेको स्वधर्मको नाम हो । आत्माको पुकार हो । कुतर्क गर्ने हो भने रंगशालाको ढोका मन्त्रीले खोल्ने होइन, के को राजीनामा ?

कसैले खुकुरीले ठुन्क्यायो भने दोष मानिसलाई किन ? हातले त काट्दैन । काट्ने त खुकुरी हो । आखिर तर्क सकिएपछि बाँकी रहने भनेको कुतर्क नै हो ।

अहिले देखिने नाटक यस्तै विवेकशून्यताको परिणाम हो । हामीले सुन्दै आएको टेबुलमुनिको घुसखोरी त दन्त्यकथा जस्तो भइसक्यो ।

भ्रष्टाचार त अब नीतिगत र संगठित रुपमा स्वाभाविक प्रक्रियाजस्तै भएको छ । भ्रष्टाचारी र सदाचारी खुट्याउनु भनेको सर्वतबाट चिनी निकाल्नुजस्तै कठिन बन्दै गएको छ ।

दल र तिनीहरुले लाइसेन्स दिएका दलालहरुबाट राज्यका हरेक निकाय प्रताडित छन् । अब त चुनाव पनि सेटिङमा हुन थालिसक्यो ।

जनताको हाड, पसिनाको कमाइ सदुपयोग गर्नुपर्छ भनेर कुनै राजनीतिक दलले चुँ सम्म पनि गरेको सुनिदैन । यी सवै दृश्यले भन्छ– नीतिहरुको राजा राजनीति, उद्योग भएको छ ।

राजनीतिक दलहरु प्राइभेट लिमिटेड । सत्ताभित्रका दलहरु लुट्न मस्त छन् । प्रतिपक्षी दलहरु सत्ताको आगोमा स्वार्थको रोटी सेकाउन नपाउँदा अंगुर अमिलो शैलीको अभिनय गरेर बसेका छन् ।

[email protected]

प्रकाशित मिति: २५ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्