प्रकृतिको स्वर्ग ‘माङ्सिमा’- जहाँ जीवन र प्रकृति एकसाथ मुस्कुराउँछन्
ध्रुब खड्का (डीवान)
संखुवासभा सदरमुकाम खाँदबारी नजिकै, मकालु गाउँपालिका–५ मा अवस्थित सुन्दर गाउँ माङ्सिमा प्रकृतिको अद्वितीय सुन्दरता, सांस्कृतिक विविधता र आत्मीय आतिथ्यताले भरिएको स्वर्ग समान भर्जिन स्थल हो । मकालु हिमालको काखमा बसेको यो गाउँ शान्त, सौम्य र निश्चल वातावरण खोज्नेहरूका लागि एक अनुपम गन्तव्य बनेको छ ।

सहरको भीडभाड र आधुनिक जीवनको कोलाहलबाट केही टाढा, माङ्सिमामा पुग्दा मानौँ समय नै थामिएको अनुभूति हुन्छ। यहाँको अर्गानिक जीवनशैली, स्वच्छ हावा, हरियाली खेतबारी ,भर्जिन ल्याण्ड र स्थानीय बासिन्दाको आत्मीय व्यवहारले हरेक आगन्तुकलाई न्यानोपनको अनुभव गराउँछ। एकदिन मात्रै बस्न या ५ दिन घुम्न दुवै विकल्प खुल्ला छ ।
माङ्सिमा प्रकृतिको काखमा बसेको अदीत्तीय आत्मिक शान्तिको ठेगाना हो, जहाँ पुगेपछि मन र शरीर दुवै नयाँ ऊर्जा र उत्साहले भरिन्छन् ।
पाँच दिने यात्रा कार्यक्रम
पहिलो दिन :
काठमाडौंबाट तुम्लिङटारसम्म हवाई वा सडकमार्गबाट यात्रा। ईटहरी–धरान, हिले हुँदै पनि खाँदबारी पुग्न सकिन्छ। खाँदबारी पुगेर टुम्लिङ्ग्टार को मनकामना धाम जहाँ बर्षेनी एकादशिको दिन मेला लाग्ने गरेको छ,(खेमराज गुरुङ्ग ले गाएर चर्चित बनेको वारि जमुना पारी जमुना यही बजारको गित हो,) सतिघाट, हरेलो डाँडा र रमिते डाँडाको अवलोकन गर्न सकिन्छ। बेलुकी सेकाहा वा पाङ्मा गाउँ घुमेर सरुवाको स्वाद चाखेर खाँदबारीमै बास, जहाँ राम्रो बसोबास र खानाको सुविधा उपलब्ध छ ।
दोस्रो दिन :
बिहानै खाँदबारीबाट चिचिला पुगेर हिमालयको मनमोहक दृश्यावलोकन गर्दै नास्ता । त्यसपछि कुवापानी–देउराली हुँदै नुम बजार भ्रमण अनि खाना । (नुमबाट करिब १÷२ घण्टा ओरालो अरुण ३ आयोजना हेर्न जान समेत सकिनेछ भने यहीँबाट पवित्र शिवधारा समेत जान सकिनेछ । नुमबाट खोकाताक हुँदै पाकपोकसम्म गाडीमा करिब डेढ घण्टाको यात्रा र त्यसपछि ४५ मिनेटको रमाइलो पदयात्रा । सिमली खोलाको झरना हुँदै माङ्सिमा प्रवेश… गुरुङ गाउँ वा राई गाउँको होमस्टेमा बास (हाल गुरुङ गाउँमा व्यवस्थित होमस्टे र पसलहरूको सुविधा छ ।

तेस्रो दिन :
स्थानीय गाइडसहित बिहान गुन्याहाङ्ग पहाडतर्फ ३–४ घण्टाको पदयात्रा । मकालु, कञ्चनजङ्घा र अन्य हिमालहरूको दृश्यावलोकन गर्दै भेडीगोठको भ्रमण। यहाँबाट देखिने हिमशृंखला र दृश्यहरू विश्वस्तरका भ्यूपोइन्टहरूमध्ये पर्न सक्ने सम्भावना राख्छन्। बेलुकी त्यहीँ गोठ वा टेन्टमा बास।
चौथो दिन :
गुन्याहाङ्गबाट सुचिया र नास्ता खाएर बिस्तारै ओरालो यात्रामा निस्किने। बाटोमा रातमाटे चरन क्षेत्र र (आधा स्वर्ग) दृश्यावलोकन। यहाँ ध्यान, योग, सिर्जनात्मक लेखन वा संगीतका लागि वा प्लानहरु बनाउन अत्यन्त उपयुक्त देखिन्छ । त्यसपछि ‘गिद्दे ढुङ्गा’ र वरपरका रमणीय डाँडाहरू अवलोकन गर्दै तस्बीर भिडिओ बनाउँदै माङ्सिमा फर्केर स्थानीय नाँचगान र सांस्कृतिक कार्यक्रममा सहभागिता (विशेषगरी गुरुङ तमु ल्होसार र मङ्सिरे उधौली पर्व समयमा खास हुने )।
पाँचौँ दिन :
बिहान खाजापछि सिमली खोला तरेर पाकपोकबाट गाडीमार्फत फर्किने … बाटोमा अरुण–३ आयोजना, हेदाङ्ना गढी, सिम्मा, उवा, आलाउलिङ, एक्वा र सेदुवा ख्यामपालुङ जस्ता स्थानहरू हेर्दै नुम पुग्ने, त्यसपछि खाँदबारी फर्केर यात्राको अन्तिम बास।
प्रकृतिको अद्भुत चित्र
माङ्सिमाको प्रमुख आकर्षण गुन्याहाङ्ग पहाड हो । करिब ३–४ घण्टाको पदयात्रापछि पुगिने यो स्थानबाट मकालु, कञ्चनजङ्घा लगायतका हिमालहरूका श्रृंखलाहरू दृष्टिगोचर हुन्छन्। त्यहाँबाट पवित्र शभापोखरी, खाँदबारी, चैनपुर, भोजपुर, ताप्लेजुङ, नुम बजार र भोटखोला क्षेत्रसम्मको आखाले भ्याएसम्मको मनमोहक दृश्य देख्न सकिन्छ ।
रातमाटे गोठबाट ‘आधा स्वर्ग’को झल्को पाइन्छ, भने “गिद्दे ढुङ्गा”, “भञ्ज्याङ खर्क”, “पाताल खर्क” र “कुन्धोबारी” जस्ता स्थलहरूले यस क्षेत्रको पर्यटन सौन्दर्यमा वृद्धि गरेका छन्।
सिमली खोला ,ईन्दुवा को दुङ्ग्दुगे झरना यस गाउँका अर्को आकर्षण हो । सिमलि खोलाले सदरमुकाम खाँदबारीसम्म खानेपानी समेत आपूर्ति गरेको छ । त्यस्तै नरखोला, मेलाखोला र इन्दुवाखोला जस्ता नदी–खोलाहरूले यस क्षेत्रलाई जलसम्पन्न र जीवन्त बनाएका छन्।
संस्कृति र कृषि पर्यटन
माङ्सिमा मुख्यतः गुरुङ र राई समुदायको छुट्टाछुट्टै बसोबास रहेको सानो गाउँ हो । राई बस्तीमा पाहुनाको स्वागत झ्याउ, बंगुरको मासु, कुखुराको वाचिपा र असला माछाजस्ता स्वादिष्ट परिकारले गरिन्छ।
गुरुङ बस्तीमा तोङ्बा, भेडाको मासु, ढिकिमा कुटेको चिउरा, चामल ,स्थानीय जडिबुटीको रक्सी, ईन्दुवाको अशला माछा,चिया र तोङ्बा भेडाको सुकुटी प्रमुख परिकार हुन्।
यहाँको ‘ताक्मारु रातो धान’ माङ्सिमाको पहिचान हो । करिब २००० मुरी वार्षिक उत्पादन हुने यो धान नागबेली आकारका हेर्दै लोभलाग्दो खेतहरूमा फलाइन्छ। हिमालबाट बग्ने चिसो पानी र सुपोषित माटोका कारण यो क्षेत्र अलैची,किबी, एभोकाडो, हाडे अङ्गुर खेती र ट्राउट माछा पालनका लागि पनि उपयुक्त छ,कफी,चिया,टिमुर को लागी समेत राम्रो छ ।पशुपालनका दृष्टीले त झन् बेस्ट नै भैगयो ।
स्थानीय खानपानमा ताक्मारुको रातो भात, कोदोको रक्सी, तोङ्बा, छ्याङ, भेडाको मासु, भटमास, रसिलो तरुल, रुख टमाटर र खनाक्पा टिमुरको अचारहरूले यहाँको पाककलालाई विशेष बनाएका छन्।
विशेष आकर्षण र सम्भावना
माङ्सिमा खानी अध्ययनका दृष्टिले पनि सम्भावनायुक्त क्षेत्र हो। यहाँ टुर्मालिन, गार्नेट, चुनढुङ्गा, खरीढुङ्गा र एक्वामरिनजस्ता बहुमूल्य रत्न पाइन्छन्।
पर्यटकहरूले कोसेलीका रूपमा ताक्मारु चामल, भेडाको सुकुटी, र भेडाको उनबाट बनेका लुकुनी वा राडी लैजान सक्छन् । लालिगुराँसको फेदमा पाइने बहुमूल्य यार्चागुम्बा पनि यस क्षेत्रको आकर्षण हो।
भविष्यका योजनाहरू
स्थानीय बासिन्दाले माङ्सिमालाई व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गर्नका लागि निम्न योजनाहरू अघि सारेका छन्-
–गुरुङ गुम्बामुनि सिमसार क्षेत्रमा विशाल ताल निर्माण……
–भाटभटेनीबाट सुरुङ मार्ग निर्माण
–माङ्सिमालाई छुट्टै वडा घोषणा गर्ने पहल
–होमस्टे, होटल र रिसोर्टहरूको विस्तार
–सडक र ढलान गोरेटो निर्माण
–“ताक्मारु चामल” ब्रान्डिङ गरी निर्यात प्रवद्र्धन
–भेडाको उन, लोक्ता र अल्लो उद्योग सञ्चालन
–सोलार गाउँलाई केन्द्रीय विद्युत् प्रसारणसँग जोड्ने योजना
–अर्गानिक कृषि–पर्यटन हब निर्माण
–खानी उत्खनन तथा रोयल्टी संकलन
चुनौतीहरू
–मोबाइल टावरको अभावका कारण सञ्चारमा केही कठिनाइ
–पैदल यात्रा गर्न असमर्थ पर्यटकका लागि वैकल्पिक यातायात अभाव
–तालिमप्राप्त गाइड र कुकहरूको कमी
–ठूलो संख्यामा पर्यटक आएमा बसोबासको सीमितता (हाल घरघरमा १०००
जनासम्म अटाउने क्षमता भए पनि व्यवस्थापन चुनौतीपूर्ण छ)
निष्कर्ष :–
माङ्सिमा केवल एउटा गाउँ होइन, यो प्रकृति, संस्कृति, परिश्रम र न्यानोपनको संगम हो। हिमाली दृश्य, कृषि–आधारित सरल जीवनशैली र सांस्कृतिक विविधताले यसलाई नेपालका ग्रामीण पर्यटन गन्तव्यहरूमा विशेष पहिचान दिनु जरुरी छ ।
जो कोही माङ्सिमामा पुग्छ, यहाँको सुन्दरता र आत्मियताले उसको मनमा अमिट छाप छोड्छ। नेपालको ग्रामीण पर्यटनलाई नयाँ उचाइमा पुर्याउने शक्ति माङ्सिमामा निहित छ।
यदि तपाईं प्रकृतिको काखमा एउटा सानो स्वर्ग खोज्दै हुनुहुन्छ भने माङ्सिमा गाउँ तपाईंको प्रतिक्षामा छ । ढिलो नगर्नुहोस्।








प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार







