भोजपुरमा कति मतदाता थपिए, कुन गाउँपालिकामा कति ?
भोजपुर, भदौ १४
पछिल्लो समय भएको फोटो सहितको मतदाता नामावली संकलन कार्यमा भोजपुरमा १० हजार २२ जना मतदाता थपिएका छन् । थपएिका मध्ये महिला ४ हजार ६ सय २६, पुरुष ५ हजार ३ सय ९५ र तेस्रो लिङगी १ जना गरी १० हजार २२ जनाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।
सबै भन्दा धेरै जिल्ला निर्वाचन कार्यालयबाट २ हजार ८ सय ३० जना र सबै भन्दा कम रामप्रसाद राई गाँउपालिकाबाट ४ सय ६२ जनाको नामावली संकलन भएको जिल्ला निर्वाचन अधिकारी केवल प्रसाद रेग्मीले जानकारी दिए । नाम दर्ता गराउनेहरुमा यसअघि छुट भएका साथै वैदेशिक रोजगारीबाट फकिएका नागरिकहरु धेरै छन् ।
अरुण गाँउपालिकामा ५ सय महिला र ४ सय ९२ पुरुष गरी ९ सय ९२, आमचोक गाँउपालिकामा २ सय ५ महिला, २ सय ६९ पुरुष गरी ४ सय ७४, पौवादुम्मा गाँउपालिकामा २ सय ५१ महिला, २ सय ८५ पुरुष गरी ५ सय ३६ जनाको नामावली संकलन गरिएको छ ।
साल्पासिलिछो गाँउपालिकामा २ सय २३ महिला, ४ सय ३३ पुरुष गरी ६ सय ५६, ट्याम्के मैयुङ गाँउपालिकाका ४ सय ११ महिला, ४ सय ८५ पुरुष गरी ८ सय ९६, हतुवागढी गाँउपालिकामा ४ सय १६ महिला, ४ सय ८६ पुरुष गरी ९ सय २ र षडानन्द नगरपालिकामा ११ सय २ महिला र ११ सय ७२ पुरुष गरी २२ सय ७४ जनाको नाम संकलन गरेको अधिकारी रेग्मीले बताए ।
भोजपुरमा यसअघि १ लाख पाँच हजार ५५४ मतदाता थिए । अब हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि १ लाख १५ हजार ५७६ मतदाता कायम भएको छ ।
प्रकाशित मिति: १४ भदौ २०७४, बुधबार
















