प्रिय नवदुर्गा !


 


एकराज भुजेल
खै, कसरी सम्वोधन गरौं आज म तिम्रो रुप हेरेर म विक्षिप्त भएको छु । भोजपुरको दलगाउँ भन्ने बित्तिकै नवदुर्गा स्कुल आखाभरी घुमिरहन्थ्यो आज मेरै फेसबुकको भित्तामा तिम्रो तस्विर हेर्दा तिमीले लगाएको गुन तिर्न सकिन कि भन्ने खिन्नता बोध भएकाले तिम्रो नाममा सम्झना स्वरुप दुई शब्द कोर्न विवश छु ।

काठमाण्डौंको व्यस्त जीवनलाई केही छिन थाती राखेर भएतापनि बालापनमा तिम्रो मजेरीमा धुलोमा लडिबुडी खेलेको, टिफिन टाइममा एक्ले बरको टुप्पोमा चढी बरको दानाले खाजाको प्यास मेटाउँदै साबुवा खोलामा डुबुल्की मारेको, बनपालाको जंगलमा सल्लाको पातमा चिप्लेटी तथा लुकामारी खेलेको यादहरु जीवन्त रहेको छ ।

थोत्रो मोजा भित्र कागजका टुक्रा भरी मोजाको भकुण्डो बनाइ त्यही तिम्रो मझेरीमा खेल्दाको मजा बेग्लै थियो मोजाको भकुण्डो बोकेर साथीहरुको सामु छुट्टै सान लिएर हिडेको अझै पनि मानसपटलमा

घुमिरहन्छ ।तर विडम्वना मोजाको गोल खेल्ने चउर आज मासेर भवनहरु मात्र निर्माण गरेकाले आजभोलीका भाई बैनीहरु खेलमा भन्दा अध्ययनमा बढी झुकाव भएका होलान् त भन्ने प्रश्न उब्जिने गर्दछ ।

प्रिय नवदुर्गा, तिम्रो जुन नाजुक तस्विरले बालापनको याद मात्र होइन आक्रोस पनि पैदा भो, मेरो बालापन फेरियो समय फेरियो तर तिमी फेरिन नसकेको समाचारले मेरो मन मात्र होइन तिम्रो पाउँमा शरण परी तिमीले उत्पादन गरेका धेरै व्यक्तित्वको मन आज चिरिएको छ ।

कतिलाई त तिम्रो बारेमा जानकार नी छैन तिम्रो यो हविगत हुनुको रहस्य अझै सम्म सबै अनविज्ञतामै रुमलिरहेका छन्। जुन रहस्य विस्तारी खोतल्नका लागि यो मेरो पत्रले केही टेवा पुर्‍याउने आशा गरेको छु।

प्रिय नवदुर्गा, तिमिले जन्माएका व्यक्तिहरु आज तिम्रो नाम जप्दै अन्तरीक्षसम्म पुगिसकेका छन्। तिमीलाई खोटाङ्गको सिम्पानी देखि रातारात दलगाउँको बरभन्ज्याङ्गमा जग उभ्याउने सस्थापक स्व।

पूर्णप्रसाद पोख्रेल परधाम भएका छन् । प्रिय नवदुर्गा, इतिहासका पानाहरु धेरै पल्टाउँन चाहिन म यति कुरा चाही खुलेर भन्न सक्छु दलगाउँ वासी हाम्रा बाबा आमाको पसिनाले सिंचित गरी निर्माण गरिएको भवनमा बसेर धुलोमा क, ख, रा लेखि पढेको भएर पनि धेरै नै यस भवनको माया ममतामा रुमिलरहेको छु ।

प्रिय नवदुर्गा, जीर्ण भवनका कारण हाम्रा भाई बैनीको पठन पाठनमा कुनै बाधा अवरोध आएको छैन, धेरै छाप्राहरु बन्ने क्रम निरन्तरता रुपमा अघि बढिरहेको छ, तर जुन पुरातात्विक महत्व बोकेको दलगाउँबासी आमा बाबाको पसिनाले ठडिएको भवन आज जीर्ण अवस्थामा रहेको पाउँदा मन कुडिएको हो।

प्रिय नवदुर्गा, जीर्ण भवनको तस्विर फेसबुकमा हालेर हुने केही छैन, शिक्षाको गुणस्तर खोज्नु पर्दछ भन्नेहरुको आवाज पनि बुलन्द रुपमा फेसबुकका भित्तामा पढ्न पाइएको छ ।

तर आज फेसबुकको भित्ताकै कारण जीर्ण भवनको बारेमा पोल खुल्दैछ फैसबुकमा भित्तामा मात्रै सीमित हुने छैन । आशा छ, हाम्रो आमाहरुले पेटमा बच्चा बोकेर भोको पेटले पसिना बगाउँदै बालुवा बोकेको, गिटी कुटेको क्षण अनि हाम्रा बाउँहरुले कम्मरमा पटुका कसेर ढुङ्गा इट्टा जोडेर ठडिएको भवन त्यसै हामी ढल्न दिने छैनौ ।

प्रिय नवदुर्गा, हामी त्यही भवनबाट नै हाम्रो शिक्षाको आखा खुलेको छ म जस्ता लाखौ पूर्व विद्यार्थीहरु जीर्ण भवनलाई पुरानै ढाँचामा निर्माण गर्नु पर्दछ भन्ने सहयोगी हातहरु फिजाउने तम तयारीमा रहेका छन् ।

हो, हामी पूर्व विद्यार्थीको जमातले नै जीर्ण भवनलाई पुर्ननिर्माण गर्न सक्दछौं । हामी सबैले हातेमालो गर्ने हो भने पक्कै पनि भवन निर्माण हुने नै छ । नवदुर्गा माविलाई विद्यार्थी पढ्नको लागि भवनको कुनै आवश्यकता छैन ।

तर ऐतिहासिक महत्व बोकेको भवन बीचमा कुरुप भएर ठडिएको छ भने वरीपरी अरु नयाँ भवनहरु दिनानुदिन ठडिरहेका छन् । हामी पूर्व विद्यार्थीको

जमात, विद्यालय व्यवस्थापन समिति, आम दलगाउँ बासी तथा सरोकारवाला, स्थानीय सरकार, राजनैतिककर्मी तथा आम नागरीकको सहकार्यमा यो जीर्ण भवनले पुर्ननिर्माण पाउने छ ।

प्रिय नवदुर्गा, यस जीर्ण भवनलाई ढल्न दिएर यस भवनको नाम निशाना नामेट पार्ने तिर पक्कै पनि हामी लाग्ने छैनौं, पुरानै संरचनामा अझ बलियो र मजबुद अनि जिल्लाकै नमुना विद्यालय बनाउनका लागि हामी हातेमालो गरी अघि बढ्ने प्रण गर्दछौ ।

प्रिय नवदुर्गा, अन्त्यमा ढल्न नदिनका लागि हामी पूर्व विद्यार्थीको जमात बढिरहेको छ । कतिलाई त यस बारेमा जानकारी पनि हुन सकेको छैन आशा छ यस पत्रले गर्दा यस अभियानमा हातेमालो गर्नेको संख्या बढ्ने छ।

चाढै नै दलगाउँको माटोमा जीर्ण भवन पुर्ननिर्माणको लागि पूर्व विद्यार्थी तथा सरोकारवाला निकायको पाइला पर्ने छ अनि जीर्ण भवनले नयाँ रुप पाउने विश्वासका साथ ओझेल पर्दछु ।

प्रकाशित मिति: १२ कार्तिक २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्