कोपिला अाइडलमा उत्कृष्ट दश छानिए


 


kopila idole top 10स‌खुवासभा, साउन २९

खाँदबारीमा जारी ‘कोपिला आईडल–२०७२’ बालगायन प्रतियोगिता अन्तिम चरणमा पुगेको छ । ‘सिर्जनशीलता र सहभागितामा बालप्रतिभाको पहिचान, गीत संगीत कला र सँस्कृतिको जगेर्ना हाम्रो अभियान’ भन्ने नारासहित आयोजना भएको प्रतियोगितामा ‘उत्कृष्ट दश’ जनाको छनौट सम्पन्न भएको छ ।

सातौं चरणको छनौट कार्यक्रमबाट उत्कृष्ट दशमा पर्नेहरुमा आशिष तामाङ भोजपुरका एकमात्र प्रतिस्पर्धी हुन् । बाँकी सबै संखुवासभाका छन् । संखुवासभाबाट हेमराज राई, ईसा बजगाँई, युनिषा जिमी, कुमार तामाङ र नविन राई आठौं चरणको प्रतिस्पर्धाका लागि छानिएका छन् ।

त्यसैगरि, मिङमा शेर्पा, रिञ्जील्हमु भोटिया, युनिक राई र सुदेश राईले पनि उत्कृष्ट दशमा आफुलाई अटाएका छन् । उनीहरु निर्णायक र एसएमएस भोटिङको आधारमा प्रतियोगिताको अन्तिम दशमा परेका हुन् ।

आगामी शनिवार हुने आठौं चरणको छनौट कार्यक्रमबाट अन्तिम चरणका लागि उत्कृष्ट पाँचको छनौट गरिने आयोजकले जनाएको छ । प्रतियोगिता खाँदबारी एफएमको बाल कार्यक्रम उत्पादन समूहले आयोजना गरेको हो ।

उत्कृष्ट पाँचले भदौ १९ गते हुने फाईनलमा प्रतिस्पर्धा गर्नेछन् । फाईनलको विजेताले उपाधिसहित नगद नगद ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ ।

उपाविजेतालाई भने १५ हजार पाँच सय १५ रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरि, तेश्रो हुनेले एघार हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछ । फाईनलमा कलाकारहरु सुमित खड्का, खेमराज गुरुङ र प्राश्ना शाक्य निर्णायकको रुपमा उपस्थित हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो चरणको छनौट गत जेठबाट शुरु भएको थियो । संखुवासभाको मादी, चैनपुर र खाँदबारी तथा भोजपुरको दिङलामा भएको छनौट कार्यक्रमबाट ९० जनाले दोश्रो चरणमा प्रवेश पाएका थिए ।

दोश्रो चरणबाट ६०, तेश्रोबाट ४० र चौंथोबाट ३० जना प्रतियोगी छनौट गरिएको थियो । त्यसैगरि, पाँचौंबाट २०, छैटौंबाट १५ र सातौं चरणबाट १० जनालाई छनौट गरिएको आयोजक सदस्य बासु भण्डारीले जनाए ।

प्रकाशित मिति: २८ श्रावण २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्