एक स्थानीय बासिन्दाले गरे जग्गादान

बैतडी, पुस ६
नेपाल पत्रकार महासंघ, शाखा कार्यालय बैतडीलाई एक स्थानीय बासिन्दाले रु तीन लाख बराबरको जग्गादान गर्नुभएको छ ।
जग्गादान गर्नुहुनेमा दशरथचन्द नगरपालिका–५ का रामदत्त भट्ट हुनुहुन्छ । पत्रकार महासंघ शाखा बैतडीको आफ्नो भवन नहुँदा समस्या भइरहेका बेला स्थानीयवासी रामदत्त भट्टले तीन आना जमिन दान गरेको पत्रकार महासंघ शाखा बैतडीका सचिव नरी बडुले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “रु तीन लाख बराबरको जग्गादान गर्नुभएको छ ।” दान गरेको जमिनमा केही दिनभित्र नै महासंघको भवन निर्माण कार्य थालिनेछ, सचिव बडुले भन्नुभयो । १५ वर्षपछि अब महासंघको आफ्नै भवन हुने भएको छ ।
जग्गादान गर्ने भट्टलाई पत्रकार महासंघ बैतडी शाखाले धन्यवाद ज्ञापन गरेको छ । सदरमुकाम नजिकै पल्लाचौडाली भन्ने ठाउँमा रहेको उक्त जग्गा बुधबार जिल्ला मालपोत कार्यालयमार्फत पत्रकार महासंघको नाममा पास गरेको हो । नेपाल पत्रकार महासंघको शाखा, बैतडीमा विसं २०५९ मा स्थापना भएको थियो ।
प्रकाशित मिति: ६ पुस २०७४, बिहिबार
















