पुरानो सिलिण्डर विस्फोट हुँर्दा एक घर ध्वस्त



मलेखु, धादिङ, पुस ७
पुरानो सिलिण्डर ग्यास प्रयोग गर्न घर पुर्याएपछि विस्फोट भएका कारण एक घर जलेर पूर्णरुपमा क्षति भएको छ ।

गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा बाबुराम तिमल्सिनाले बजारबाट किनेर लगेको नमस्ते ग्यासको सिलिण्डर घरभित्र पुर्याएपछि विस्फोट भई घर जलेर ध्वस्त भएको सोही वडाका वडासदस्य विन्दा अधिकारीले बताउनुभयो ।

ग्यास उद्योगले बजारमा ल्याएको पुरानो सिलिण्डर किनेर लगेलगत्तै विस्फोट भएकाले क्षतिपूर्ति उपलब्ध गराउन घरधनी तिमल्सिनाले माग गर्नुभएको छ ।

मानिस घर बाहिर भएकाबेला विस्फोटन भएकाले मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडा तथा साबै सामग्री नष्ट भएको वडाध्यक्ष प्रेम तामाङले बताउनुभयो ।

गाउँमा हालै लगिएका सबै ग्यास सिलिण्डर जाँच गर्न र पुराना सिलिण्डर फिर्ताका लागि आह्वान गर्न लागिएको तामाङको भनाइ छ ।

प्रकाशित मिति: ७ पुस २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्