स्थानीय निकायको काम सदरमुकामबाटै हुँदा सेवाग्राही मर्कामा



जाजरकोट, पुस १०
जाजरकोटका अधिकांश स्थानीय निकायका काम सदरमुकामबाटै हुने गरेका छन् ।

जिल्लाका त्रिवेणी नलगाड नगरपालिका र भेरी नगरपालिकाबाहेक अरु स्थानीय निकायको काम सदरमुकामबाटै हुँदै आएको छ । सामान्य कामका लागि पनि सदरमुकाम आउनु पर्ने बाध्यता भएको सेवाग्राहीहरुको गुनासो छ ।

गाउँमा कुनै पनि सेवा सुविधा नभएका कारण यहाँका स्थानीय सरकारहरु सदरमुकामबाटै चल्दै आएका हुन् । बैंक, विद्युत्, सञ्चारलगायतका सेवा, सुविधा नभएको भन्दै सदरमुकाममा नै स्थानीय सरकार चलाउनुपरेको वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताउनुभयो ।

स्थानीय सरकारको अनुभूतिसम्म गर्न नपाएको वारेकोट गाउँपालिका–९ का रामबहादुर महतराले गुनासो गर्दै भन्नुभयो, “ सबै कामका लागि हजारौँ रकम खर्चेर सदरमुकाम नै आउनुपर्छ के नयाँ व्यवस्था आयो भन्नु रु” त्यस्तै जुनिचाँदे गाउँपालिकाका सबै काम सदरमुकाममा हुँदै आएका छन् ।

त्यहाँका स्थानीयवासी सामान्य कामका लागि पनि सदरमुकाम नै आउनुपर्ने बाध्यता रहेको बताउँदै आएका छन् । शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, कुशेगाउँपालिकाका सबै काम सदरमुकामबाटै हुँदै आएका छन् ।

स्थानीयस्तरमै सबै काम हुने भनिए पनि अहिलेसम्म ९० प्रतिशत काम सदरमुकाममै हुँदै आएका छन् । वडा कार्यालयसमेत स्थापना हुन नसक्दा सबै काम एकै ठाउँबाट हुँदै आएको छ । कर्मचारीको अभावले गर्दा समस्या भएको बताएको छ ।

प्रकाशित मिति: १० पुस २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्