हिस्तानको महभिर झरना ओझेलमा

म्याग्दी, पुस ११
प्रशस्त पर्यटकीय सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको महभिर झरना ओझेलमा परेको छ ।
प्रचारप्रसार र पूर्वाधारको अभावका कारण बेनी–जोमसोम सडकको छेउमै रहेको मनमोहक र आकर्षक महभिर झरना ओझेलमा परेको हो । बेनी–जोमसोम सडकमा सवारीसाधनमार्फत दैनिक हजारौ आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गरेपनि नजिकै रहेको महभिर झरना सुनसान हुने गर्छ ।
पहाडको फेदीमा करिब १०० मिटर माथिबाट खस्ने महभिर भरना निकै आकर्षक र मनमोहक रहेको स्थानीयवासी मिलन गर्बुजाले बताउनुभयो । छङछङ गर्दै झर्ने झरनामा इन्द्रेणी लाग्दा अझै मनमोहक देखिने गर्छ । पूर्वाधार विकास, प्रचारप्रसार र प्रवद्र्धन हुन नसक्दा ओझेलमा परेको उहाँको भनाइ छ ।
उक्त झरना नजिकै मन्दिर पनि रहेको छ, जहाँ पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले झरनाको धार्मिक महत्वसमेत छ । बेनी–जोमसोम सडकदेखि दश मिटर नजिकै रहेको झरना बाटैबाट देखिन्छ । केही पर्यटक गाडीबाट ओर्लिएर झरना नजिकै पुगेर अवलोकनसँगै तस्वीर खिच्ने पनि गरेका छन् ।
घेराबार, विश्रामस्थल, पार्किङस्थल, पदमार्ग निर्माण र प्रचारप्रसार हुन सकेको छैन । यातायातको पहुँच रहेकाले उक्त झरनामा साहसिक खेल क्यानोनिङ पनि सञ्चालन गर्न सकिने सम्भावना रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकाको ७ नं वडाका अध्यक्ष गमबहादुर फगामीले महभिर झरनालाई पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि यो वर्ष वडा कार्यालयले रु पाँच लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । महभिरका बासिन्दासँग छलफल गरेर सवारी पार्किङ, रेलिङ, विश्रामस्थल र पदमार्ग निर्माण गर्ने योजना रहेको वडाध्यक्ष फगामीले बताउनुभयो ।
प्रकाशित मिति: ११ पुस २०७४, मंगलबार
















